कांग्रेस बैठक

आफूमाथि कारबाहीको विषयमा शेखरले मागे देउवासँग जवाफ

देउवामाथि शेखरका नौ प्रश्न

नेपालभ्युज

आफूमाथि कारबाहीको विषयमा शेखरले मागे देउवासँग जवाफ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा नेता शेखर कोइरालाले सभापति शरबहादुर देउवामाथि नौ प्रश्न अघि सार्दै त्यसको जवाफ माग गरेका छन् । उनले आफूमाथि कारबाही गर्नुपर्ने विषयमा सभापतिले राखेको धारणा २०८२ मंसिरमा महाधिवेशन हुन नसक्ने कारण, अनुशासन समितिको कामकारबाही, योग्यता नै नपुगेका मान्छेलाई केन्द्रीय सदस्यमा बनाइएको विषयमा प्रश्न उठाएका हुन् ।

प्रश्न उठाउनुघि पार्टीलाई एक ढिक्का बनाएर लैजाने अभिव्यक्तिप्रति उनले देउवालाई धन्यवाद पनि भनेका छन् । ‘सर्वप्रथम म पार्टी सभापतिज्यूलाई धन्यवाद दिन चाहन्छु, किनकि भर्खरै उहाँले पार्टीलाई एक ढिक्का बनाएर लैजान्छु भन्नु भएकोमा,’ उनले भने ।

त्यसपछि उनले महाधिवेशनको मितिबारे प्रश्न गरेका थिए । ‘हामी अहिले महाधिवेशनको वर्षमा छौँ । २०८२ सालको मंसिर महिनामै १५ औं महाधिवेशन गर्नुपर्छ भन्ने कुरामा म अहिले पनि दृढ छु । यदि हुन सक्दैन भने के कारणले र किन हुन सक्दैन सभापतिज्यू र पदाधिकारीले चित्त बुझ्‌दो जबाफ दिनुपर्‍यो,’ उनले भने ।

उनले एमालेसँगको सत्तासहकार्यले कांग्रेसलाई पुर्‍याएको नाफाबारे पनि देउवासँग जवाफ माग गरेका छन् । संविधान संशोधनका लागि भनेर गठबन्धन गर्ने तर यसको प्रक्रिया सुरू नगर्ने भन्दै उनले असन्तुष्टिसमेत पोखेका छन् । ‘के कारणले कांग्रेसले एमालेलाई सत्ताको नेतृत्व दियो ? यदि संविधान संशोधनका लागि यो सत्ता गठबन्धन हो भने सातबुँदे सहमतिमा लेखिएको संविधान संशोधनको मुद्दा कहाँ पुग्यो ? सभापतिज्यूले यसको चितबुझ्ने जबाफ दिनुपर्छ,’ उनको माग छ ।

अनुशासन समितिको बैठकमा सभापतिले चितवनामा दिनेश कोइरालालाई शेखर कोइरालाले उठाएकाले कारबाही गर्ने प्रस्ताव गरेको भन्दै त्यसको आधारसहितको जवाफ माग गरेका छन् । यस्तै उनले अनुशासन आयोगले कारबाहीमा विभेद गरेको भन्दै प्रश्न उठाए ।

कांग्रेसले अन्य दलसँग पटक-पटक चुनावी गठबन्धन गरेकोप्रति उनले असन्तुष्टि व्यक्त गरेका छन् । पर्सा १ मा लोसपालाई टिकट दिने निर्णयबारे उनले प्रश्न गरेका थिए । यस्तै, उपचुनावमा बारामा उपेन्द्र यादवालाई समर्थन नगरौँ भन्दा मधेशमा सरकारको प्रलोभनले टिकट दिइएको भन्दै उनले प्रश्न उठाए ।

अब मधेशबाट कांग्रेस टाढिदै गएको उनको भनाइ छ । उनले, उद्योगी तथा सांसद विनोद चौधरीको केन्द्रीय सदस्य बन्ने योग्यता नहेरिएको भन्दै प्रश्न गरेका छन् । ‘उहाँको क्रियाशील सदस्यताको १० वर्षे अवधि पुग्यो ? सभापतिले गिरिजाप्रसाद कोइरालासँग प्रतिस्पर्धा गर्दा उक्त महाधिवेशनमा सुजाता कोइरालाले केन्द्रीय सदस्य लड्ने इच्छा व्यक्त गर्नुभयो । १० वर्ष नपुगेकोले गिरिजाबाबुले सुजातालाई उम्मेदवार बन्न दिनुभएन,’ उनले भने । उनले भ्रातृ संगठनलाई भद्रगोल बनाएको भन्दै प्रश्न उठाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved