एजेन्सी । स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले यस वर्ष संसद्लाई सम्बोधन गर्दै युरोपमा स्थायी शान्तिका लागि युरोपेली सङ्घका २७ सदस्य राष्ट्रहरूले एकजुट भएर युरोपेली सेना गठन गर्नुपर्ने सुझाए ।
यो कुनै नयाँ विचार होइन किनभने नेटोको सेना पहिल्यै अस्तित्वमा छ, जसमा अमेरिका, युरोपेली राष्ट्रहरू र गैर-युरोपेली राष्ट्रहरू पनि समावेश छन् ।
तर, युरोपमाथि खतराका बादल मडारिरहेका छन् र यो विचारमा पुनः बहस सुरु भएको छ । युरोपको सबैभन्दा ठूलो सहयोगी पनि अब भरपर्दो छैन ।
युरोपका केही नेताहरूले पनि युरोपेली सेना गठनलाई आवश्यक ठान्न थालेका छन् । नेदरल्यान्ड्सस्थित क्लिङ्गेन्डेल इन्स्टिच्युटका सुरक्षा र रक्षा कार्यक्रमका प्रमुख डिक ज्यान्डीले बताएअनुसार १९५० को दशकमै युरोपेली सेनाको गठनको विचार आएको थियो ।
डिक ज्यान्डी भन्छन्, ‘दोस्रो विश्वयुद्धपछि जर्मनीलाई लिएर चिन्ता थियो, तर जर्मनीमा प्रजातन्त्र स्थापना भएपछि यो चिन्ता हट्यो । यद्यपि, कोरियाली युद्ध सुरु भएपछि सन् १९५० मा यो स्पष्ट भयो कि सबैभन्दा ठूलो खतरा सोभियत सङ्घबाट छ । त्यसलाई सामना गर्न युरोपेली राष्ट्रहरूको संयुक्त सेना बनाउने कुरा सुरु भएको थियो ।’
यसलाई ‘युरोपियन डिफेन्स कम्युनिटी’ नाम दिइएको थियो । लक्जमबर्ग, पश्चिम जर्मनी, फ्रान्स, बेल्जियम, नेदरल्यान्ड्स र इटालीले यसको स्थापनाका लागि सन्धिमा हस्ताक्षर गरे ।
तर, फ्रान्सको संसद्ले यो प्रस्तावलाई अस्वीकार गर्यो र यो महत्त्वाकाङ्क्षी योजना असफल भयो । सन् १९४९ मा नेटोको स्थापना पनि यस योजनामा प्रभाव पार्यो ।
यसका प्रारम्भिक सदस्यहरूमा अमेरिका र क्यानडा प्रमुख थिए । १९८० को दशकमा सोभियत सङ्घबाट खतरा कम भएको थियो, तर पछि स्थिति फेरि बदलियो । डिक ज्यान्डीको विचारमा सन् २०१४ मा रुसले क्राइमिया कब्जा गरेपछि र विशेषगरी सन् २०२२ मा युक्रेनमाथि आक्रमण गरेपछि स्थिति पूर्ण रूपमा बदलियो । १९९० को दशकमा रुससँग मित्रता कायम रहने जस्तो देखिन्थ्यो, तर अब त्यस्तो छैन । युक्रेन युद्धको प्रभाव समग्र युरोपमा परिरहेको छ ।
डिक ज्यान्डी भन्छन् कि अमेरिकाको ध्यान प्रशान्त महासागर क्षेत्र र एसियातर्फ बढी केन्द्रित छ । साथै, चीन एक ठूलो शक्तिका रूपमा उदय भइरहेको छ । त्यसैले, ट्रम्प अमेरिकाका राष्ट्रपति रहुन् वा नरहुन्, युरोपले आफ्नो सुरक्षालाई पहिलेभन्दा गम्भीर रूपमा लिनुपर्छ ।
सन् २०१८ मा फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंले पनि युरोपेली सेनाको महत्त्वमा जोड दिएका थिए । तर, धेरै देशहरू यसको विपक्षमा छन् ।
डिक ज्यान्डी भन्छन्, ‘पूर्वी युरोपका धेरै देशहरू यसको विरोधमा छन् किनभने उनीहरूलाई लाग्छ कि यसले अमेरिकालाई युरोपबाट टाढा बनाउनेछ । नेदरल्यान्ड्स र उत्तरी युरोपेली देशहरू पनि युरोपेली सेना गठनको पक्षमा छैनन् ।’
‘यद्यपि, उनीहरू युरोपेली देशहरूबीच थप सैन्य सहयोगको पक्षमा छन् । अस्ट्रिया र आयरल्यान्डजस्ता देशहरूबाट पनि युरोपेली सेना गठनको समर्थनमा कुनै स्पष्ट सङ्केत प्राप्त भएको छैन । उनीहरू युरोपलाई सैन्य सङ्गठन बनाउने कुराको कडा विरोध गर्नेछन् ।’
डिक ज्यान्डी यो पनि भन्छन् कि युरोपेली सेनाको स्वरूप के हो, यो कहिल्यै स्पष्ट भएको छैन । पेरिसस्थित युरोपियन काउन्सिल अन फरेन रिलेसन्सकी वरिष्ठ शोधकर्ता डा. युलराइके फ्रान्कीको विचारमा यदि सबै युरोपेली देशहरूले एकजुट भएर संयुक्त सेना बनाए भने यो आकारमा अमेरिकी सेनासँग लगभग बराबर र रुसी सेनाभन्दा ठूलो हुन सक्छ ।
उनले भनिन्, ‘दुर्भाग्यवश यो त्यति सजिलो छैन । सबै देशहरूबाट सैनिक र सैन्य सामग्री जुटाएर तिनलाई आवश्यकताअनुसार तैनाथ गर्न धेरै चुनौतीहरू छन् ।’
युरोपमा ४० भन्दा बढी देशहरू छन्, तर ठूलो सङ्ख्यामा सैनिक र ट्याङ्कजस्ता स्रोतहरू केही देशहरूसँग मात्र छन् ।
डा. फ्रान्की भन्छिन्, ‘युरोपका तीन-चार देशहरूसँग मात्र ठूलो सैन्य बल र ट्याङ्कहरू छन् । तिनमा मुख्य रूपमा बेलायत समावेश छ, तर अब यो युरोपेली सङ्घको हिस्सा होइन । युरोपेली सङ्घमा फ्रान्स, जर्मनी र पोल्यान्डसँग प्रमुख सैन्य स्रोतहरू छन् ।’
बेलायत र फ्रान्ससँग परमाणु हतियारहरू पनि छन् ।
जब डा. फ्रान्कीलाई युरोपको युद्धको तयारीबारे सोधियो, उनले भनिन् कि यसको कुनै स्पष्ट जवाफ छैन, तर युरोपसँग पर्याप्त सैन्य स्रोतहरू छन् ।
उनले भनिन्, ‘यदि युरोपेली सङ्घको कुनै सदस्य राष्ट्रमाथि आक्रमण भयो भने, यो आक्रमण कस्तो प्रकारको हो भन्नेमा निर्भर गर्छ, र त्यसैअनुसार सदस्य राष्ट्रहरूले प्रतिक्रिया दिनेछन् । धेरै देशहरूले युक्रेनलाई हतियार पठाएका छन्, तर उनीहरूले आफ्नो सुरक्षाका लागि पनि पर्याप्त हतियार सुरक्षित राखेका छन् ।’
डा. युलराइके फ्रान्कीका अनुसार नेटोसँग आफ्नै स्थायी सेना छैन । यसको सैन्य क्षमता यसका सदस्य राष्ट्रहरूको सेनामा आधारित छ । नेटो सन्धिअनुसार कुनै एक सदस्य राष्ट्रमाथिको आक्रमणलाई सम्पूर्ण गठबन्धनमाथिको आक्रमण मानिन्छ ।
डा. फ्रान्कीले भनिन्, ‘युरोपेली सङ्घका २७ सदस्य राष्ट्र छन् । युरोपेली सङ्घ सन्धिको धारा ४२.७ अनुसार, यदि कुनै सदस्य राष्ट्रमाथि आक्रमण भयो भने, अन्य सबै सदस्यहरूले उसको सहायता गर्न बाध्य छन् । यसबाहेक, धेरै युरोपेली देशहरूबीच द्विपक्षीय सैन्य सम्झौताहरू पनि छन् ।’
यद्यपि, युद्धजस्तो अवस्थामा सदस्य राष्ट्रहरूबीच रणनीतिक समन्वय, सैनिक तैनाथी र अभियानको नेतृत्व प्रायः नेटोमार्फत नै हुन्छ । यही कारणले नेटोबिना युद्धको चुनौती सामना गर्न कठिन मानिन्छ ।
युरोपेली सेनाको सञ्चालन कसरी हुन्छ, यो अझै स्पष्ट छैन । एउटा प्रस्तावअनुसार, सबै देशका सेनालाई एक साझा ढाँचामा ल्याउने विचार छ । अर्को सुझाव यो छ कि प्रत्येक देशले आफ्नो सेना राख्नेछ, तर युरोपेली सेनाका लागि छुट्टै सैन्य दस्ता बनाउनेछ ।
यो विचारसँग सम्बन्धित धेरै व्यावहारिक समस्याहरू पनि छन् । उदाहरणका लागि, युरोपेली सेनाको नेतृत्व कसले गर्छ? डा. फ्रान्की भन्छिन् कि कुन देशले कति स्रोत दिन्छ र कति खर्च वहन गर्छ भन्ने कुरा निर्धारण गर्न पनि जटिल छ । यो एउटा ठूलो मुद्दा हो, जसको समाधान सजिलो छैन ।
रोयल युनाइटेड सर्भिसेज इन्स्टिच्युटकी वरिष्ठ शोधकर्ता र नेटोकी पूर्व प्रवक्ता ओआना लुङ्गेस्क्युको विचारमा कम्तीमा आगामी दश वर्षसम्म युरोपेली सेना गठन सम्भव देखिँदैन ।
उनले यो पनि भनिन् कि निकट भविष्यमा अमेरिका र युरोपेली सङ्घको सम्बन्ध टुट्ने सम्भावना छैन ।
ओआना लुङ्गेस्क्यु भन्छिन्, ‘मलाई लाग्छ कि भविष्यमा नेटोलाई यस्तो तरिकाले सन्तुलित गरिनेछ कि अमेरिकाको तुलनामा युरोपको भूमिका महत्त्वपूर्ण हुनेछ । यसमा युरोपेली सेना र यसको क्षमतालाई वृद्धि गरिनेछ र युरोप-नेटो समन्वयलाई पनि सुधार गरिनेछ । यसले युरोप र अमेरिका दुवैलाई फाइदा पुग्नेछ ।’
यद्यपि, युरोपेली सेना गठनलाई लिएर युरोपेली सङ्घ र अमेरिकाको दृष्टिकोणमा विरोधाभास देखिन सक्छ ।
ओआना लुङ्गेस्क्युले बताइन् कि विगतमा रुसको प्रचार मेसिनरीले युरोपेली सेना गठनको समर्थन गरेको थियो, किनभने उसले यो मुद्दामा युरोपेली देशहरूमा फाटो ल्याउन चाहन्थ्यो ।
उनका अनुसार, सत्य यो हो कि युरोपेली सङ्घको बलियो सैन्य क्षमता रुसका लागि चिन्ताको कारण हो । तर, प्रश्न यो छ कि अमेरिकाको साेच के हुनेछ?
ओआना लुङ्गेस्क्युका अनुसार, दशकौँदेखि – राष्ट्रपति आइजनहावर, निक्सन, केनेडी र ओबामाको कार्यकालमा पनि अमेरिकाको स्पष्ट नीति रहँदै आएको छ कि युरोपले आफ्नो रक्षाका लागि बढी जिम्मेवारी लिनुपर्छ ।
उनी भन्छिन्, ‘अब राष्ट्रपति ट्रम्पले पनि यही कुरा दोहोर्याएका छन् । उनको प्रश्न जायज छ कि जब युरोपेली देशहरू आफ्नो सुरक्षाप्रति गम्भीर छैनन्, तब अमेरिकाले किन बढी खर्च गर्नुपर्यो ।’
ओआना लुङ्गेस्क्युले थपिन् कि यदि युरोपेली सङ्घले आफ्नो छुट्टै सेना बनायो भने, यसले अमेरिका र युरोपेली सङ्घको सम्बन्धमा केही तनाव ल्याउन सक्छ । तर, यदि युद्धको अवस्थामा युरोपेली सेनाले युरोपको रक्षा गर्न सकेन भने, अमेरिका निश्चित रूपमा उसको रक्षामा आउनेछ, जसरी पहिलो र दोस्रो विश्वयुद्धको समयमा भयो ।
उनले बताइन् कि यस वर्ष जब स्पेनका प्रधानमन्त्रीले युरोपेली सेना गठनको प्रस्ताव राखे, हालै युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टाले स्पष्ट गरे कि हाल कसैले पनि युरोपेली सेना गठनको कुरा गरिरहेको छैन ।
यद्यपि, सबै नेताहरूले युरोपेली सङ्घको सैन्य क्षमता सुदृढ गर्ने र नेटोसँग सहयोग बढाउने कुरामा जोड दिइरहेका छन् । साथै, यो अपेक्षा पनि छ कि युरोपेली देशहरूले रक्षा क्षेत्रमा बढी लगानी गर्नेछन् ।
यसबीच, अमेरिकाको ध्यान विश्वका अन्य क्षेत्रतर्फ छ, जबकि युरोपमाथि खतराहरू बढ्दै गएका छन् । तर, जुन २०२५ मा राष्ट्रपति ट्रम्पले युरोपमा नेटो र अमेरिकी सेनाको नेतृत्वका लागि एक वरिष्ठ अमेरिकी जनरललाई मनोनीत गरेका छन् ।
सन् १९५१ देखि यो परम्परा छ कि नेटोमा युरोपेली कमानको जिम्मेवारी कुनै अमेरिकी सैन्य अधिकृतसँग रहन्छ ।
ओआना लुङ्गेस्क्युको विचारमा यो पदमा अमेरिकी जनरलको मनोनयनले यो सङ्केत गर्छ कि अमेरिका नेटोप्रति प्रतिबद्ध छ र युरोपको सुरक्षासँग जोडिएको छ ।
अमेरिकी प्रशासनको पनि यही नीति छ कि उसले नेटोलाई दृढतापूर्वक समर्थन गर्छ, तर उ चाहन्छ कि युरोपेली देशहरू र क्यानडाले रक्षा खर्चमा वृद्धि गरून् ताकि उनीहरू नेटोका बलियो सहयोगी बन्न सकून् । ।
ओआना लुङ्गेस्क्यु भन्छिन् कि यसमा जोड दिइनेछ कि युरोपेली देशहरूले आगामी केही दशकसम्म आफ्नो कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को कम्तीमा पाँच प्रतिशत रक्षा बजेटमा खर्च गर्नुपर्छ ।
उनले भनिन्, ‘साथै, युरोपमा रक्षा उद्योगलाई पनि प्रोत्साहन दिनु आवश्यक छ, किनभने हाल युरोपले आवश्यकताअनुसार सैन्य सामग्री उत्पादन गर्न सकिरहेको छैन । तर, यी सबैका लागि पैसा जुटाउनु ठूलो चुनौती हो ।’
बेल्जियमको गेन्ट विश्वविद्यालयका प्राध्यापक डा. स्वेन बिस्कप भन्छन् कि हाल युरोपका अधिकांश देशहरूले आफ्नो रक्षा बजेटमा वृद्धि गरेका छन् । युरोपेली सङ्घले पनि रक्षा उद्योगमा लगानी बढाइरहेको छ ।
उनी बताउँछन् कि शीतयुद्धको अन्त्यपछि पश्चिमी युरोपका देशहरूले आफ्नो रक्षा खर्चमा कटौती गरेका थिए र धेरै देशहरूमा यो घटेर कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को केवल एक प्रतिशतमा झरेको थियो ।
‘तर, रक्षा उद्योगलाई सक्रिय राख्न यो पर्याप्त छैन । यसले हतियार र सैन्य उपकरणहरूलाई आधुनिकीकरण गर्न कठिनाइ हुन्छ ।’
युरोपमा रक्षा खर्चमा सबैभन्दा बढी लगानी पोल्यान्डले गर्छ । यस वर्ष उसले आफ्नो जीडीपीको लगभग सात प्रतिशत रक्षा बजेटमा छुट्याएको छ ।
यसैगरी, लिथुआनियाले आगामी पाँच वर्षमा आफ्नो रक्षा बजेटलाई पाँचदेखि छ प्रतिशतसम्म बढाउने योजना बनाएको छ ।
डा. बिस्कप भन्छन् कि यी ती देशहरू हुन् जो रुसको नजिक छन् र जसलाई सबैभन्दा बढी सुरक्षा खतरा महसुस हुन्छ । यही कारणले यी देशहरूले आफ्नो रक्षा बजेटमा तीव्र वृद्धि गरेका छन् ।
अमेरिका र युरोपको संयुक्त सैन्य बल र हतियार भण्डार निकै ठूलो छ, तर यदि अमेरिकालाई छुट्याइयो भने, युरोपसँग सीमित स्रोतहरू मात्र बाँकी रहन्छन् ।
डा. बिस्कप भन्छन्, ‘उदाहरणका लागि, सैन्य स्याटेलाइट, आधुनिक मिसाइल र युद्धक विमानजस्ता स्रोतहरूको आवश्यकता छ । तर, कुनै एक युरोपेली देशका लागि यो सम्पूर्ण लागत वहन गर्न कठिन छ । चुनौती यो छ कि यी कमजोरीहरूलाई कसरी पूरा गर्ने ।’
थप रकम कसरी जुटाउने? डा. स्वेन बिस्कप भन्छन् कि रक्षा बजेट बढाउन सरकारहरूले अन्य क्षेत्रहरूबाट रकम निकालेर रक्षामा लगाउनुपर्नेछ ।
बेलायत अब युरोपेली सङ्घको सदस्य होइन, तर यो नेटोको सदस्य छ । उसले रक्षा खर्च बढाउन आफ्नो विदेशी सहायता योजनाहरूमा कटौती गर्ने विचार गरिरहेको छ ।
११ वर्षअघि नेटोका सदस्य देशहरूले आफ्नो जीडीपीको कम्तीमा दुई प्रतिशत रक्षा क्षेत्रमा खर्च गर्ने लक्ष्य निर्धारण गरेका थिए । नेटोका अनुसार, यसका ३२ मध्ये २३ सदस्य देशहरूले यो लक्ष्य हासिल गरिसकेका छन् ।
डा. बिस्कप बताउँछन् कि अब नेटोले यो लक्ष्यलाई दोब्बर गर्ने योजना बनाइरहेको छ ।
उनले भनिन्, ‘रक्षा बजेट जीडीपीको कम्तीमा पाँच प्रतिशत हुनुपर्छ । यसले युरोपलाई रक्षामा आत्मनिर्भर बन्न सहयोग गर्नेछ । अधिकांश युरोपेली नेताहरूलाई थाहा छ कि यो हासिल गर्न उनीहरूले के गर्नुपर्छ । यदि अमेरिकाको ध्यान अन्य क्षेत्रतर्फ गयो भने, युद्धको अवस्थामा युरोपले आफ्नो रक्षा आफैँ गर्नुपर्नेछ ।’
अब मुख्य प्रश्नतर्फ फर्कन्छौँ – के चाँडै युरोपेली सेना गठन हुन सक्छ?
जवाफ हो – होइन ।
यद्यपि, अधिकांश युरोपेली देशहरूले आफ्नो रक्षा बजेटमा वृद्धि गरेका छन्, तर उनीहरू अमेरिकाको साथ छोड्न तयार छैनन् ।
जुन देशहरूले युरोपेली सेना गठनको वकालत गरिरहेका छन्, उनीहरूलाई यसका लागि आवश्यक रकम जुटाउन अन्य क्षेत्रहरूमा कटौती गर्नुपर्नेछ – र यो कुरा युरोपेली सङ्घ समर्थक समूहहरूलाई पनि स्वीकार्य हुँदैन ।
यो केवल आर्थिक बोझको कुरा होइन । सेनाको सञ्चालन र निर्णय प्रक्रियामा नियन्त्रणलाई लिएर पनि गम्भीर राजनीतिक प्रश्नहरू उठ्नेछन् । यस्तो सेनाको निर्णयले देशहरूको सार्वभौमसत्तामा असर पर्न सक्छ ।
युरोपेली सेना गठनका लागि सबै सदस्य राष्ट्रहरूबीच पूर्ण एकजुटता पनि आवश्यक छ । हाल यो एक अव्यावहारिक विचार बनेको छ, जसमा युरोपेली देशहरूबीच गहिरो मतभेद छन् । बीबीसीबाट
Facebook Comment
Comment