लैंगिक पहिचानमा क्रान्ति ल्याउँदै कोरियाली सांगीतिक समूह के-पप (भिडिओ)

नेपालभ्युज

लैंगिक पहिचानमा क्रान्ति ल्याउँदै कोरियाली सांगीतिक समूह के-पप (भिडिओ)

काठमाडौं । लस एन्जल्समा सांगीतिक प्रस्तुती दिँदै थिए के-पप स्टार बेन । ओभरकोट र कालो चश्मामा सजिएका २४ वर्षीय यी स्टारले फ्यानहरूमाझ नयाँ घोषणा गर्न लागेको सुनाए । उनले गर्न खोजेको घोषणाले फ्यानहरू निकै उत्साहित थिए । फ्यानहरूमाझ बेनले भने, ‘म LGBTIQ समुदायको रहेको सगौरव घोषणा गर्दछु ।’ लगत्तै इन्द्रेणी झण्डा उठाउँदै उनले लेडी गागाको प्राइड एन्थम गाए ।

दक्षिण कोरियाली मनोरञ्जन उद्योगका कलाकारहरूले आफ्नो लैंगिकताबारे खुला घोषणा गर्दा चुनौती हुनसक्ने सुझाव बेनलाई दिएका थिए । उनको घोषणापछि फ्यान संख्या घट्नसक्नेबारे के-पप समूहमा समेत छलफल भएको थियो । समाज परिवर्तन भइरहेकाले आफूले फ्यान गुमाउने नभएर अझ बढी फ्यान आर्जन गर्ने आत्मिवश्वासका साथ आफ्नो लैंगिकता खुलाएको बेनले बीबीसीसँग बताएका छन् ।

‘मैले मेरो लैंगिकता खुलाउन चाहेको बारे मनोरञ्जन उद्योगका केही मानिस जानकार थिए । उनीहरूले त्यसो नगर्न मलाई सचेतसमेत गराएका थिए । मलाई पनि आफ्नो घोषणाले फ्यान घट्ने हुन् कि भन्ने चिन्ता नलागेको होइन, तर समाज परिवर्तन भइरहेकाले मैले गुमाउनेभन्दा कमाउने बढी संभावना रहेको निष्कर्षमा पुगेँ,’ बीबीसीसँग उनले भनेका छन् ।

आफूलाई गे-भन्ने के-पप कलाकारहरू सीमित छन् । आफ्नो लैंगिकताबारे सार्वनजिक घोषणा गर्ने पहिलो के-पप स्टार भने बेन नै हुन् । सन् २०२५ मा पनि दक्षिण कोरियामा यसलाई साहसिक कदम मानिन्छ । निकै सम्मानित हैसियतमा रहेका कलाकारहरूले समलैंगिकताको कुरा गर्नु पनि त्यहाँ निन्दनीय मानिन्छ ।

१२ वर्षको उमेरदेखि आफू गे रहेको बेनले थाहा पाएका थिए । केही समयपछि के-पपमा प्रशिक्षार्थीका रूपमा प्रवेश गरेका उनले आफ्नो लैंगिकताको विषय लुकाइराखे। त्यसबेलासम्म के-पपका कोही कलाकारले पनि यस्तो खुलासा नगरेकाले आफूमाथि प्रश्न उठ्ने र समूहमा बन्देज लाग्नसक्ने त्रासले उनले आफ्नो लैंगिकता खुलाउने साहस गर्न सकेका थिएनन् । भर्खरै के-पपमा प्रवेश गरेकाले आफूसँग लुकाउनु बाहेकको विकल्प नरहेको उनको भनाइ छ ।

सन् २०२१ मा के-पपको पुरूष ब्यान्ड Just B मा उनी अनुबन्धित भए । यस ब्याण्डले विभिन्न एल्बम निकाल्नुका साथै धेरैवटा रियालिटी शोमा सहभागिता जनायो । यो ब्याण्डले उल्लेखीय मात्रमा फ्यान बटुलेको थियो । चर्चाको शृंखलाका बीच आफ्नो लैंगिकता खुलासा गर्दा आफू आइडल बन्न नसक्ने चिन्ताका कारणले बेनले आफ्नो वास्तविकता लामो समयसम्म खुलाउन सकेनन् । यस ब्यान्डका सदस्यहरूले उनलाई हौसला दिइराखे ।

आफ्नो लैंगिकताको विषयमा हीनताबोध नगरी सगौरव खुलासाका लागि अन्य सदस्यहरूले बेनलाई ढाडस दिए । अमेरिकामा सांगीतिक यात्रा दौरान उनले आफू सगौरव गे रहेको खुलासा गरे । त्यसपछि यो समूह र बेन स्वयं चर्चाको शिखरमा छन् ।

के-पपमा कुरीति

दक्षिण कोरियाली कलाकार होङ सुक छोन् ले सन् २००० मा आफू गे रहेको खुलासा गरेका थिए । आफ्नो लैंगिक पहिचानको खुलासा गर्ने पहिलो कलाकार थिए होङ । उनले यस कदमको ठूलै मूल्य चुकाउनुपरेको थियो । टिभी शोबाट उनलाई निकालिएको थियो भने विज्ञापनहरूमा प्रतिबन्धजस्तै थियो ।

दक्षिण कोरियामा लैंगिकता तथा अल्पसंख्यकबारेको धारणा विस्तारै परिवर्तन भइरहेको अनुसन्धान संस्था प्यूको विवरण छ । सन् २००२ मा २५ प्रतिशतले मात्रै आफ्नो पहिचान खुलाएकोमा सन् २०१९ मा पहिचान खुलाउनेको संख्या ४४ प्रतिशत पुगेको छ । यद्यपि, निकै कम कलाकारले मात्रै आफ्नो पहिचान खुलाएका छन् । सन् २०१९ मा गायक होलन्डले आफ्नो पहिचान खुलाउँदै आफू गे रहेको खुलासा गरेका थिए । यस्तै, सन् २०२० मा गायक जीयले आफू bisexual रहेको बताएकी थिइन् ।

बेनको घोषणालाई उनका फ्यान र LGBTIQ समुदायले उत्साहप्रद रूपमा लिएका छन् ।

दक्षिण कोरियामा समलैंगिकताबारे सीमित ऐतिहासिक अभिलेखहरू छन् । विगतमा केही राजवंशमा समलिंगी सम्बन्धको अभ्यास भएको इतिहासमा पढ्न सकिन्छ । सिल वंशका राजा हेगोङ र गेर्योङ वंशका राजा गोङमिनको पालामा यसको अभ्यास भएको पाइन्छ । उनीहरू दुवैका पुरूषप्रेमी थिए ।

ज्योसनको युगमा नाट्य कलाकारहरूले समलिंगी चाहनालाई सांस्कृतिक रूपमा प्रस्तुत गर्दथे । दक्षिण कोरियामा LGBTIQ को पहिचान परम्परागत मूल्य, रूढवादी सामाजिक मापदण्ड, सीमित कानुन र कलंकको व्याख्याका कारणले खुल्न सकिरहेको थिएन । क्रमिक रूपमा भने यस मामिलामा त्यहाँ केही सुधार हुँदै आएको देखिन्छ ।

सन् १९९० को सुरुवातदेखि त्यहाँ यस मामिलामा केही महत्त्वपूर्ण सुधार भएको थियो । सन् १९९३ मा दक्षिण कोरियामा पहिलोपटक क्वेर अधिकारवादी संस्थाको स्थापना भयो । यसमा तीन जना गे र तीन लेस्बियन थिए ।

सन् १९९० को मध्यतिर सिओल नेसनल युनिभर्सिटी र योन्सेइ युनभर्सिटीमा यस्ता समुदाय संगठित भएका थिए ।

सन् १९९६ मा पहिलो लेबस्यनबार लेस्बोसको सुरुवात भएको थियो । यस्तै सन् १९९७ मा पहिलो कोरियन क्वेर फिल्म फेस्टिबल आयोजना भएको थियो । सन् १९९० को अन्त्यतिर लैंगिक तथा यौनिक अल्पसंख्यकको अधिकारबारे लेख्ने म्यागेजिन बडी सार्वजनिक भएको थियो । कानुनी तथा संस्थागत सुधारको मामिला सन् २००१ मै भएको थियो । राष्ट्रिय मानवअधिकार आयोग ऐन पारित गर्दा त्यहाँ यौन झुकावको विषय उल्लेख थियो । सन् २००३ मा कोरियाली यौनिक अल्पसंख्यक, सांस्कृतिक र अधिकार केन्द्र KSCRC स्थापना भएको थियो ।

सन् २००४ मा युवा ऐन पारित गर्दा त्यहाँ उल्लेखित समलिङ्गीद्वेषी भाषा हटाइयो । सन् २००६ मा सर्वोच्च अदालतले ट्रान्सजेन्डरको हकमा लिंग परिवर्तनलाई वैधता दियो ।

यद्यपि, त्यहाँको सैन्य कानुनले समलिंगी विवाहलाई अपराध मान्दछ । परम्परागत मान्यता हाबी रहेकाले संसद्‌बाट सलिंगीमाथि हुने भेदभाव र दुर्व्यवहारविरूद्धको ऐन पारित हुन सकिरहेको छैन । यस्ता समुदायप्रति घृणा फैलाउने व्यवहार भइरहेका छन् । परम्परागत मान्यता राख्नेहरूको संख्या हाबी हुँदा सन् २०१३ मा डेमोक्रेटिक पार्टीले भेदभावविरूद्धको ऐन नै फिर्ता लिनुपरेको थियो ।

सामाजिक रूपमा अझै पनि लैंगिक तथा यौनिक अल्पसंख्यकलाई कुरिती नै मानेर सामाजिक प्रतिवाद गर्ने अवस्थाका बीच आफ्ना हक र अधिकारबारे ती समुदायले वकालत गरिरहेका छन् ।

दक्षिण कोरियाको सांस्कृति उपस्थिति विश्वव्यापी रूपमा बढ्दै गएको छ । यस्तो अवस्थामा के-पप र त्यसका सदस्यले लैंगिक पहिचान खुलाउँदै यस्ता विषयलाई प्रेरित गर्नाले कोरियाको मनोरञ्जन उद्योग र समाजलाई नै नयाँ आकार दिनसक्ने विश्वास लिइएको छ ।

(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमका विवरणमा आधारित रहेर शिशिर ढकालले तयार पारेको सामग्री)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved