सयौँ खेलमा लाओसमाथि नेपालको सानदार जित

नेपालभ्युज

सयौँ खेलमा लाओसमाथि नेपालको सानदार जित
तस्वीर : एन्फा

काठमाडौँ । कप्तान सावित्रा भण्डारी ‘साम्बा’ ले ५ गोल गरेपछि नेपालले एएफसी महिला एसियन कप छनोटमा आइतबार लाओसलाई ९–० को फराकिलो अन्तरले हराएको छ । नेपालले लाओसमाथि जितसँगै आफ्नो सयौँ अन्तर्राष्ट्रिय खेललाई अविस्मरणीय बनायो । साथै कप्तान साम्बाले कप्तानीको सुखद् सुरुवात गरिन् ।

अनिता बस्नेत, सरु लिम्बु,रश्मिकुमारी घिसिङ र अनिता केसीले समान एक एक गोल गरे । नेपालले खेलको सुरुवातमा नै अग्रता बनाएको थियो । १२ औं मिनेटमा अनिता बस्नेतले गोल गरिन् । सविता राना मगरको क्रसमा साम्बाको हेडरपछि अनिताको लेफ्ट फुटेट प्रहारले जाली चुम्यो ।

पहिलो हाफको ४४ औं मिनेटमा नेपालले अग्रता दोब्बर बनायो । अनिता बस्नेतको सटिक क्रसमा साम्बाको हेडरले विपक्षी जाली चुम्यो । नेपालले पहिलो हाफमा दुई गोल गरेको थियो । दोस्रो हाफ पूरै नेपालको नियन्त्रणमा रह्यो ।

दोस्रो हाफ सुरु भएको दोस्रो मिनेटमा नै नेपालले तेस्रो गोल गर्‍यो । रेनुका नगरकोटेले दिएको बलमा सविताको उत्कृष्ट पासलाई रश्मिले भेट्टाउन सकिनन् भने नजिकै रहेकी सरुले गोल गर्दै आफ्नो ५० औं अन्तर्राष्ट्रिय खेललाई यादगार बनाइन् ।

लाओसविरुद्ध खेलको ५५ औं मिनेटमा साम्बाले व्यक्तिगत दोस्रो गोल गरिन् । लामो थ्रु–पासमा साम्बाले बललाई अगाडि बढाउँदै किपरसँगको वान भर्सेस वानमा गोल गरिन् । साम्बाले गोल गरेको एक मिनेपछि नै रेनुकाको सहयोगमा रश्मिले गोल गरिन् । नेपालले ५–० को सानदार अग्रता बनायो । त्यसलगत्तै नेपालले ३ खेलाडी परिवर्तन गर्‍यो । प्रीति राई, पुजा राना र अनिता केसीले सरु, अनिता बस्नेत र रश्मिलाई रिप्लेस गरे ।

त्यसको केहि समयपछि प्रशिक्षक प्याट्रिकले रेखा पौडेल र विमला बिकेलाई मैदान पठाए । उनले रेनुका र समीक्षा घिमिरेलेलाई परिवर्तन गरे । यसपछि नेपालले ३ गोल थप्यो। ७५ औं मिनेटमा साम्बाले ह्याट्रिक पूरा गरिन् । त्यसको एक मिनेट पछि साम्बाले व्यक्तिगत चौथो गोल गरिन् । ८३ औं मिनेटमा सब्स्टिच्युट अनिता केसी पनि गोल गरिन् । नेपाल यतिमा मात्र रोकिएन । ८८ औं मिनेटमा साम्बाको प्रहार लाओसको खेलाडीको खुट्टामा लाग्दै गोलमा परिणत भयो । ५९ औं खेलमा साम्बाको त्यो ६२ औं गोल थियो ।

योसँगै नेपालले आफ्नो सयौं खेललाई यादगार बनाएको छ । साथै छनोटमा ३ अंक सहित सानदार सुरुवात गरेको छ । कप्तानको जिम्मेवारीमा रहेकी साम्बाको लागि यो खेल विशेष रह्यो । उनले कप्तानको जिम्मेवारीमा टिमलाई ५ गोलसहित जित दिलाइन् ।

साथै प्रशिक्षक प्याट्रिकको लागि पनि डेब्यु खेल सुखद रह्यो । समूह एफमा आयोजना उज्वेकिस्तान र श्रीलंका पनि छन् ।

यसअघि कप्तानको टुंगो नलागी उज्बेकिस्तान पुगेको टोलीले अन्तिम समयमा कप्तान पाउँदा केही द्विविधासमेत भयो । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपालको प्लेइङ ११ सार्वजनिक गर्दा रेनुका कप्तान भएको उल्लेख थियो । तर, मैदान प्रवेश गर्ने बेला भने साम्बा कप्तानका रुपमा प्रवेश गरिन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved