काठमाडौँ । अन्तर्राष्ट्रिय सुन्दरी प्रतियोगिता ‘मिस सुप्रान्यासनल’ को १६ औँ संस्करणको उपाधि ब्राजिलकी एडुआर्डा ब्रुमले जितेकी छन् ।
पोल्याण्डको वार्सामा सम्पन्न फिनालेमा नेपालले ऐतिहासिक सफलता हासिल गरेको छ। विश्वका ६६ राष्ट्रका सुन्दरीहरूबीचको प्रतिस्पर्धामा नेपालकी दीक्षा अवस्थी उत्कृष्ट २४ मा पर्न सफल भएकी हुन् ।
गत वर्षकी विजेता हर्रास्टा हाइफा जाहराले उपाधि विजेता ब्रुमलाई ताज पहिराइदिएकी थिइन्। प्रतियोगितामा जर्मनीकी अन्ना लाक्रिनी फस्ट रनरअप बनिन् भने
कुराकाओकी क्विसान्टेली लेइटो सेकेन्ड रनरअप घोषित भइन्। त्यस्तै, फिलिपिन्सकी ताराह भ्यालेन्सिया थर्ड रनरअप र प्यूर्टो रिकोकी भ्यालेरी क्लेपाड्लो फोर्थ रनरअप बन्न सफल भए।
मिस सुप्रान्यासनल एक प्रतिष्ठित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता हो। यसलाई विश्वका प्रमुख सुन्दरी प्रतियोगिताहरूमध्ये एक मानिन्छ र यो ‘बिग सिक्स’ अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताहरूमध्ये पर्छ।
सन् २००९ मा पोल्याण्डमा सुरु भएको यस प्रतियोगिताले प्राकृतिक सौन्दर्य र शालीनतामा जोड दिँदै विश्वभरका उत्कृष्ट महिलाहरूलाई एकसाथ ल्याउने लक्ष्य राख्छ। यो विश्वव्यापी मञ्चमा सौन्दर्य, बौद्धिकता, र व्यक्तिगत क्षमता प्रदर्शन गर्ने एक महत्वपूर्ण प्लेटफर्म हो।
प्रत्येक देशमा यसको राष्ट्रिय प्रतियोगिता आयोजना गरिन्छ, जसका विजेताले अन्तर्राष्ट्रिय प्रतियोगितामा आफ्नो देशको प्रतिनिधित्व गर्छन्।
मिस्टर एन्ड मिस सुप्रान्यासनलका राष्ट्रिय आयोजक सन्तोष उपाध्यायले नेपालले यो स्थान हासिल गर्दा अत्यन्तै खुसी लागेको बताए। उनले उपाधि नजिते पनि यो देशका लागि ऐतिहासिक पल भएको उल्लेख गरे।
Facebook Comment
Comment