एमालेको नेतृत्व लिन तम्सिरहेकी विद्या भण्डारीलाई ओलीले दिएका दुई सन्देश

नेपालभ्युज

एमालेको नेतृत्व लिन तम्सिरहेकी विद्या भण्डारीलाई ओलीले दिएका दुई सन्देश

काठमाडौं । आगामी महाधिवेशनबाट नेकपा एमालेको नेतृत्व लिन तम्सिरहेकी विद्या भण्डारी र लगातार तेस्रो कार्यकाल अध्यक्ष हुने तयारीमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली शनिबार एउटै मञ्चमा देखिए । उनीहरूलाई एउटै मञ्चमा ल्याउने अवसर मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको जबजको ३० वर्ष विषयक कार्यक्रमले जुराएको हो ।

अध्यक्ष बन्ने प्रयासमा रहेकी भण्डारी र उनलाई रोकी आफैँ अध्यक्षमा तेहेरिने तयारीमा रहेका प्रधानमन्त्री ओली एउटै मञ्चमा हुँदा एकअर्काप्रति कसरी प्रस्तुत हुन्छन् भन्ने चासो एमाले कार्यकर्ताहरूले एक हप्ता पहिलादेखि नै सामाजिक सञ्जालमा राख्न थालिसकेका थिए । तर, शनिबार ओली आगामी महाधिवेशनबारे केही बोलेनन् । बरु उनले भने, ‘यहाँ केहीले विभिन्न आस गरेका छन् । मैले बम पड्काउँछु, भनेर, विद्याजीले बम पड्काउनुहुन्छ भनेर । यहीँबाट एमाले ध्वस्त हुन सुरु हुन्छ, यो सपना देखेर बसेका छन् । कुनै बारुद, बम-गोला पड्किनेवाला छैन, आस नगरे हुन्छ ।’

महाधिवेशन र आगामी नेतृत्वबारे स्पष्ट नबोले पनि मञ्चमा रहेकी विद्या भण्डारीलाई ओलीले दुई सन्देश भने दिएका छन् ।

१. जबजको प्रतिपादन

शनिबार मदन भण्डारी फाउन्डेसनले कार्यक्रमको नाम नै जबजको ३० वर्ष राखेको थियो । तर, ओलीले भने यो ३० वर्ष नभई ३५ वर्ष हुनुपर्ने बताए । २०४९ माघ १४ गतेदेखि २० गतेसम्म काठमाडौँमा भएको एमालेको पाँचौँ महाधिवेशनले जनताको बहुदलीय जनवाद (जबज) लाई ‘नेपाली क्रान्तिको कार्यक्रमका रूपमा अंगीकार गरेको थियो’ । र, यो राजनीतिक कार्यक्रम तत्कालीन महासचिव मदन भण्डारीले ल्याएका थिए । यसै आधारमा फाउन्डेसनले ३० वर्ष भनेको हो । तर, ओलीले भने जबज पाँचौँ महाधिवेशनबाट अंगीकार गरिए पनि त्यसको आधार भने मालेको चौथो महाधिवेशन भएको बताएका छन् ।

उनले भने, ‘२०४९ माघमा भएको महाधिवेशन नै जबजको कोणबाट भएको हो । त्यसैले म भन्छु चौथो महाधिवेशन नेपाली कम्युनिस्ट आन्दोलनमा निकै महत्त्वपूर्ण छ, असाधारण छ ।’ उनले चौथो महाधिवेशनले जबजको जग हालेको समेत बताए । तर, ओलीपछि बालेका एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ओलीको यो भनाइको खण्डन गरेका छन् । उनले पृष्ठभूमिको कुरा गर्ने हो भने २००६ सालमा नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको भन्दै जबजको पृष्ठभूमि पनि २००६ साल रहेको तर्क गरे ।

ओलीले चौथो महाधिवेशनलाई असाधारण भनी जबज अंगीकार गरेको पाँचौँ महाधिवेशनलाई चौथो महाधिवेशनको निरन्तरता मात्र रहेको सन्देश दिएका छन् । अथवा जबजमा मदन भण्डारीको एकल स्वामित्व नभएको सन्देश दिएका छन् । किनकि एमालेले आफ्नो राजनीतिक मागदर्शक सिद्धान्त मान्ने जबजका प्रतिपादक स्वयं मदन भण्डारीकै श्रीमती विद्या एमालेमा नेतृत्व लिन तम्सिरहेकी छिन् ।

२. मदन भण्डारीलाई महासचिव

ओलीले कार्यक्रममा मदन भण्डारी महासचिव हुन नचाहे पनि आफूहरूले महासचिव बनाएको बताएका छन् । उनले भनेका छन् ‘चौथो महाधिवेशनमा मदन भण्डारी महासचिव हुन चाहनुहुन्थेन । उहाँलाई हामीहरूले बनाएका हौँ । हामी साथीहरूले सल्लाह गरेर महासचिव बनाएका हौँ । जबजमा उहाँको अगुवाइ भए पनि महासचिव हामीले बनाएका हौँ ।’

ओलीले मदन भण्डारीलाई आफूहरूले महासचिव बनाएको बताएर विद्या भण्डारीको नेतृत्व आकाङ्क्षामा पनि आफूहरूको भूमिका महत्त्वपूर्ण हुने सन्देश दिएका छन् । अथवा आफूहरूले सल्लाह नगरी विद्या भण्डारी एमाले अध्यक्ष बन्न नसक्ने सन्देश दिने प्रयास गरेका छन् ।

त्यसो त ओली शनिबारको कार्यक्रममा विद्या भण्डारीभन्दा अगाडि नै बोलेर कार्यक्रमबाट निस्किए । तर, मजाकको शैलीमा उनले भने, ‘पूर्वराष्ट्रपति विद्याज्यूले मेरो पनि कुरा सुन्नुहोस् भन्नु भएको थियो । तर, स्पेन जानुपर्ने भएकाले समय पुगेन । तर, मैले उहाँको कुरा धेरै पहिलादेखि नै सुन्दै आएको छु । उहाँ राम्रो बोल्नुहुन्छ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved