काभ्रे । बेथानचोक गाउँपालिकाले विपद्बाट क्षतिग्रस्त सडक मर्मत र कृषिलाई प्राथामिकतामा राखेर नीतिगत तथा कार्यक्रम अघि सारेको छ । बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान् अधिकारीले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै पालिकाले विपद्बबाट क्षतिग्रस्त मध्ये ३ सय ८३ किलोमिटर सडक मर्मत गरेको र बजेटमा पनि त्यसलाई प्राथामिकतामा राखिएको जानकारी दिए ।
आर्थिक वर्ष २०८२/०८३ का लागि बेथानचोक सरकारले कुल ६४ करोड ७३ लाख ५ हजार ३ सय ४४ रूपैयाँको बजेट विनियोजन गरेको छ । उपाध्यक्ष तारा राना मगरले गाउँपालिकाको बजेट प्रस्तुत गरेकी थिइन् ।
विपद्ले राजश्व संकलनमा कमी ल्याएको र प्रदेश तथा संघीय सरकारबाट प्रतिबद्धता अनुरुप राजश्व बाँडफाँडको रकम तथा समानीकरण अनुदान प्राप्त नहुँदा बेथानचोकको बजेट घाटामा रहेको अध्यक्ष अधिकारीको भनाइ छ । ।
बेथानचोक गाउँपालिकाले कृषि र पशुपालनमा सुधार, पर्यटन प्रवद्र्धन र पूर्वाधार निर्माणमा जोड दिनेगरी बजेट ल्याएको छ । विदेशबाट फर्केका युवालाई ४ प्रतिशत ब्याजदरमा २० लाखसम्म ऋण उपलब्ध गराउने बेथानचोक सरकारको घोषणा छ ।
त्यस्तै, कृषि क्षेत्रको आधुनिकीकरण र बजारीकरणमा टेवा दिनेगरी कोशेली घर स्थापना, माटो परीक्षण गरी वैज्ञानिक खेती, रैथाने बाली प्रवद्र्धन र बिउ बैंक बिस्तार गर्नेजस्ता कार्यक्रम ल्याइएका छन् । छिमेकी स्थानीय तहहरुसँगको समन्वयमा पूर्वाधार निर्माण कार्यलाई थप अगाडि बढाइने उल्लेख छ ।
पर्यटन प्रवद्र्धनका लागि बेथानचोकलाई हाइकिङ सिटीको रूपमा विकास गर्ने, तीनतले झरना र वैश्णव पार्कको स्तरोन्नति गर्ने, पदमार्गहरूको विकास गर्ने जस्ता कार्यक्रमहरू समावेश छन्। ‘बेथानचोक सफारी सञ्चालन गर्ने र गुम्बाडाँडा भ्यू टावर जस्ता पुराना योजनाले पनि यसपटक निरन्तरता पाएका छन् । त्यस्तै श्रमलाई सीपसँग जोड्ने, सीपलाई प्रविधिसँग जोड्ने र प्रविधिलाई उत्पादनसँग जोड्ने गरी एडभान्स तालिम सञ्चालन गरिने तथा महिला उद्यमशीलता विकासमा जोड दिने गाउँपालिकाको नीति रहेको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीले जानकारी दिए ।
शिक्षा क्षेत्रमा विद्यार्थीको प्रोत्साहनका लागि छात्रवृत्ति, छोरी बुहारीलाई निशुल्क शिक्षाको व्यवस्थालगायत पुरानै कार्यक्रमले निरन्तरता पाएका छन् । शिक्षकको क्षमता विकास, प्रविधिमैत्री शिक्षण, स्वास्थ्य क्षेत्रमा २४ घण्टा सेवा, विशेषज्ञ स्वास्थ्य शिविर, नसर्ने रोग नियन्त्रण जस्ता कार्यक्रमहरूले पनि निरन्तरता पाएका छन्
Facebook Comment
Comment