इरान र इजरायलबीच युद्धविराम घोषणा भएयता के-के भयो ?

नेपालभ्युज

इरान र इजरायलबीच युद्धविराम घोषणा भएयता के-के भयो ?

काठमाडौं । इरान र इजरायलबीच युद्धविरामको घोषणा भएपछि पनि दुवै देशले एकअर्कालाई दोषारोपण गरिरहेका देखिन्छन् । इजरायलले इरानले युद्धविराम उल्लंघन गरेको बताएको छ भने इरानले यी दाबीहरूलाई अस्वीकार गरेको छ ।

अहिलेसम्मका घटना :

नेपाली समयअनुसार मंगलबार बिहान १०ः५३ बजे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा इरान र इजरायलबीच युद्धविराम लागू भएको पोस्ट गरे ।

यो घोषणाको एक घण्टापछि इजरायलले अमेरिकी युद्धविराम प्रस्तावमा सहमति जनाएको बताएको थियो, जबकि इरानले पहिले भनेको थियो– यदि इजरायलले आक्रमण रोक्छ भने हामी पनि त्यसै गर्नेछौं ।

दिउँसो १ः१५ बजे इजरायली सेनाले इरानले प्रहार गरेको क्षेप्यास्त्र पहिचान गरेको र उत्तरी इजरायलमाथि त्यसलाई रोकेको बताएको छ ।

इरानले कुनै पनि क्षेप्यास्त्र प्रहार गरेको अस्वीकार गरेको छ, तर आईडीएफले इजरायलले ‘बलियो प्रतिक्रिया’ दिने चेतावनी दिएको छ ।

युद्धविराम सुरु हुनुभन्दा अघि रातभर दुवै पक्षबीच भारी आक्रमण भएको थियो । इरानको सरकारी सञ्चारमाध्यमले इजरायलले प्रहार गरेको क्षेप्यास्त्रले राजधानी र अन्य शहरहरूलाई लक्षित गरेको र एक आणविक वैज्ञानिक सहित कम्तीमा नौ जनाको मृत्यु भएको बताएको छ ।

इजरायली शहर बेरशेबामा कम्तीमा चार जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् ।

यसैबीच अमेरिकी राष्ट्रपति ट्रम्पले इजरायलसँग ’खुशी नभएको’ बताएका छन् । हेगमा नेटो शिखर सम्मेलनमा जानुअघि पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले यो कुरा बताएका हुन् ।

उनले भने, ‘मलाई लाग्छ समयसीमा (युद्धविरामको सुरुवात)पछि एउटा रकेट प्रहार गरिएको थियो र अब इजरायलले त्यस्तो कारबाही गर्नेछैन । सम्झौता भएको यति चाँडै इजरायलले आक्रमण गरेको मलाई पटक्कै मन परेन ।’

यता कतारको विदेश मन्त्रालयले पनि एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘यो सम्झौता विभिन्न द्वन्द्व समाधान गर्न संवाद र कूटनीति अपनाउने दिशामा अर्थपूर्ण कदम साबित हुने कतार आशा गर्दछ ।’

विदेश मन्त्रालयले अमेरिकी राष्ट्रपति ट्रम्पको प्रयासको पनि प्रशंसा गरेको छ ।

इरानका स्वास्थ्यमन्त्री मोहम्मद रजा जफरगानीले जुन १३ देखि इजरायली आक्रमणमा ६०६ जनाको मृत्यु भएको बताएका छन् । उनका अनुसार इजरायली आक्रमणमा पाँच हजारभन्दा बढी घाइते भएका छन्, जसको उपचार जारी छ ।

इरानमा पछिल्लो २४ घण्टामा सबैभन्दा घातक आक्रमणहरू भएका छन्, जसमा १०७ जनाको मृत्यु भएको छ ।

यसैबीच गाजाको नागरिक सुरक्षा एजेन्सीले इजरायली सेनाले मङ्गलबार प्यालेस्टिनी क्षेत्रको केन्द्रमा रहेको वितरण स्थल नजिकै सहायताको प्रतीक्षामा रहेका २१ जनाको हत्या गरेको बताएको छ ।

मङ्गलबार मध्य गाजामा सहायताका लागि पर्खिरहेका नागरिकहरूको जमघटलाई लक्षित गरी भएको इजरायली आक्रमणका कारण उनीहरूको मृत्यु भएको र अन्य १५० जना घाइते भएको नागरिक सुरक्षा प्रवक्ता महमुद बासलले बताए ।

बीबीसीको सहयोगमा

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved