अमेरिकी हमलापछि खामेनेईले सहयोग माग्न रुस पठाए विदेशमन्त्री

नेपालभ्युज

अमेरिकी हमलापछि खामेनेईले सहयोग माग्न रुस पठाए विदेशमन्त्री
तस्वीर - रोयटर्स

काठमाडौं । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईले अमेरिकाको पछिल्लो सैन्य कारबाहीपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग थप सहयोग माग गर्न आफ्ना विदेशमन्त्रीलाई सोमबार मस्को पठाएका छन् ।

सन् १९७९ को इरानी क्रान्तिपछि अमेरिकाले गरेको यो सबैभन्दा ठूलो हमला भएको बताइएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली नेताहरूले सार्वजनिक रूपमा खामेनेईको हत्या तथा “शासन परिवर्तन”को सम्भावनाबारे टिप्पणी गरिरहेका छन् । यस्तो सम्भावनाले पूरै मध्यपूर्वलाई संकटमा फाल्न सक्ने भन्दै रूसले चिन्ता व्यक्त गरेको छ ।

पुटिनले इजरायली आक्रमणलाई आलोचना गरे पनि अमेरिकाले इरानका आणविक केन्द्रमाथि गरेको आक्रमणबारे अझै टिप्पणी गरेका छैनन् । यद्यपि, उनले पछिल्लो साता क्षेत्रीय तनावबारे संयमता अपनाउन आह्वान गरेका थिए र आणविक कार्यक्रमबारे संवादका लागि रूसको मध्यस्थताको प्रस्ताव राखेका थिए ।

रोयटर्सलाई एक वरिष्ठ स्रोतले बताएअनुसार इरानी विदेशमन्त्री अब्बास अराघचीले पुटिनलाई खामेनेईको पत्र बुझाउने छन्, जसमा अमेरिका र इजरायलको आक्रमणविरुद्ध थप रूसी समर्थनको अनुरोध गरिएको छ ।

इरानी स्रोतहरूका अनुसार तेहरान हालसम्म रूसको समर्थनबाट सन्तुष्ट छैन र पुटिनबाट अझ ठोस सहयोगको अपेक्षा राखेको छ । यद्यपि, इरानले चाहेको समर्थनको प्रकृति भने स्पष्ट गरिएको छैन ।

क्रेमलिनले पुटिन र अराघचीबीच भेट हुने पुष्टि गरे पनि छलफलको विषय भने खुलाएको छैन । अराघचीलाई उद्धृत गर्दै रूसी राज्य सञ्चालित समाचार संस्था TASS ले लेखेको छ, “मध्यपूर्वमा बढ्दो तनावका सन्दर्भमा इरान र रूसबीच सहकार्य र समन्वय भइरहेको छ ।”

पुटिनले विगतमा इरान र अमेरिका बीचको तनाव समाधानका लागि मध्यस्थता गर्ने इच्छा व्यक्त गर्दै आएका छन् । उनले इरानको शान्तिपूर्ण आणविक प्रयोग सुनिश्चित हुनेगरी समाधान खोज्न रुसी प्रस्ताव दुवै पक्षलाई दिइएको बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved