इरानमाथि अमेरिकी हमला र गाजा नरसंहार तत्काल रोक्न माग (संयुक्त वक्तव्य)

नेपालभ्युज

इरानमाथि अमेरिकी हमला र गाजा नरसंहार तत्काल रोक्न माग (संयुक्त वक्तव्य)

काठमाडौं । इरानमाथि हालै अमेरिकाबाट भएको हवाई आक्रमणप्रति नेपालका प्रख्यात बुद्धिजीवी, लेखक, विश्लेषक र प्राध्यापकहरुले गम्भीर आपत्ति जनाउँदै संयुक्त वक्तव्य जारी गरेका छन् ।

उनीहरुले अमेरिकी सैन्य कारबाहीलाई ‘इरानको सार्वभौमसत्ता र आत्मनिर्णयको अधिकारमाथिको आक्रमण’ भन्दै यसको घोर निन्दा गरेका छन् ।

वक्तव्यमा भनिएको छ, “२१ जुनको रात अमेरिकी युद्धक विमानहरूले इरानका तीन ठाउँमा भयानक बम वर्षा गरेका छन् । आईएईएको प्रत्यक्ष निगरानीमा रहेको शान्तिपूर्ण आणविक कार्यक्रमलाई लक्षित गरिएको यो आक्रमण, अन्तर्राष्ट्रिय कानुन, मानवता र शान्तिका मूल्यमान्यतामाथि चुनौती हो ।”

संयुक्त वक्तव्यमा इराक, सिरिया, लिविया, अफगानिस्तान, प्यालेस्टाइन र लेबनानमा अमेरिकासहित उसका सहयोगीहरूले अघिल्ला दशकहरूमा सञ्चालन गरेका आक्रमणहरूप्रति पनि गम्भीर सन्दर्भ राखिएको छ । वक्तव्यमा उल्लेख छ, “अमेरिकाले सधैं आफ्ना साम्राज्यवादी राजनीतिक–आर्थिक हितका लागि असहमत राष्ट्रहरूमाथि हमला गर्ने, सत्ता परिवर्तन गराउने र स्रोत–साधन कब्जा गर्ने नीति अपनाउँदै आएको छ ।”

बुद्धिजीवीहरूको आशंका छ, “इजरायलले गाजामा गरिरहेको बालबालिका र महिलामाथिको नरसंहारबाट विश्व समुदायको ध्यान हटाउन इरानमाथि आक्रमण गरिएको हो, र अमेरिका त्यो योजनाको संरक्षकका रूपमा उभिएको छ ।”

बुद्धिजीवीहरूले इरानमाथि भएको आक्रमण र गाजामा जारी इजरायली हिंसा तत्काल अन्त्य गर्न आग्रह गरेका छन् ।

संयुक्त वक्तव्य –

२१ जुनको राती अमेरिकी युद्धक विमानहरुले इरानको तीन ठाउँमा भयानक बमवर्षा गरेका छन् । आईएईएको प्रत्यक्ष निगरानीमा शान्तिपूर्ण उपयोगका लागि अघि बढाइएको आणविक कार्यक्रमलाई लक्षित गरी गरिएको यो आक्रमणले इरानको सार्वभौमसत्ता र आत्मनिर्णयको अधिकारमाथि धावा बोलेका छ ।

यो १९औँ शताव्दीको आखिरीबाटै अमेरिकाले लिएको साम्राज्यवादी हस्तक्षेपको नीतिको निरन्तरता हो । ऊ संसारलाई आफ्नो नियन्त्रणमा राख्न चाहन्छ, आफ्ना राजनीतिक आर्थिक तथा साम्राज्यवादी आकांक्षाप्रति असहमत हुने कुनै देशमाथि बर्बर आक्रमण गर्ने, नरसंहार मच्चाउने, सत्ता परिवर्तन गराउने र उक्त देशको स्रोत साधनमाथि नियन्त्रण गर्ने अमेरिकीहरुको परम्परा नै रहि आएको छ ।

यसअघि इराक, सिरिया, लिविया, अफगानिस्तान, प्यालेष्टाइन र लेवनानमा अमेरिका र उसको सैन्य आकाँक्षाका सहयात्रीहरु तथा इजरायलले गरेका बर्बर आक्रमणले ती देशमा निम्त्याएको सर्वनाश र गाजाको नरसंहार मानव सभ्यताकै कलंकका रुपमा दर्ज छन् ।

यतिवेला इजरायल आफूले गाजामा गरिरहेको महिला तथा बालबालिकको नरशंहारबाट ध्यान हटाउन इरानमा आक्रमण गरिरहेको छ र अमेरिका उसलाई सहयोग गर्दै आफ्नो खस्कदों विश्व प्रभुत्वलाई टिकाउने प्रयासमा लागेको छ । हामी अमेरिका–इजराय–नेटो गठबन्धनको यो मानवताविरोधी, साना र कमजोर देशको आत्मनिर्णय र सावैभौमसत्ता निषेध गर्ने हरकतको घोर निन्दा र भर्त्सना गर्दछौैँं ।

इजरायली–अमेरिकी आक्रमणको यो शिलशिलाले पश्चिम एसियालाई थप द्वन्द्वमा धकेल्ने निश्चित छ । खाडी क्षेत्रका देशहरूबाट हुने खनिज तेल र ग्याँसको निर्यातमा अवरोध पुर्‍याउने र विश्वभर आर्थिक अनिश्चितता सिर्जना गर्ने सम्भावना बढाइदिएको छ ।

हामी बेन्ज्यामिन नेतान्याहु नेतृत्वको मानवताविरोधी इजरायली सत्ता र उसको अमेरिकी संरक्षकहरूका सम्पूर्ण युद्ध उन्मादी गतिविधिको हामी घोर भर्त्सना र निन्दा गर्छौँ ।

हामी सबै साना ठुला देशलाई आफ्नो सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्ने अधिकार छ भन्ने पक्षमा छौँ । गाजामा भइरहेको नरसंहार र इरानमाथिको हमला तत्काल रोक्न माग गर्दर्छौँ ।

प्राध्यापक कृष्ण पोखरेल
राम कार्की
रामराज रेग्मी
कोमल भट्टराई
नरेन्द्रजंग पिटर
अशेष घिमिरे
कृष्ण सुनवार
प्रकाश अजात
खगेन्द्र संग्रौला
हरि रोका
झलक सुवेदी
युग पाठक
सोमत घिमिरे
राजेन्द्र महर्जन
उषा तिम्सिना
शिव कुमार पौडेल
गोपिरमण उपाध्याय
कुमार पौडेल
अरविन्द सिंह 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved