काठमाडौं । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानलाई हर्मुज जलमार्ग बन्द गर्नबाट रोक्न चीनलाई अपिल गरेका छन् ।
इरानको राज्य सञ्चालित प्रेस टिभी च्यानलले इरानको संसद्ले हर्मुज जलमार्ग बन्द गर्ने योजनालाई अनुमोदन गरेपछि रुबियोले चीनलाई गुहारेका हुन् ।
इरानले यस विषयमा अन्तिम निर्णय भने गरिसकेको छैन । त्यहाँको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले यसबारे निर्णय गर्ने बीबीसीले जनाएको छ ।
इरानको आणविक केन्द्रमा अमेरिकाले गरेको आक्रमणपछि कच्चा तेलको मूल्यमा वृद्धि भएको छ ।
फक्स न्यूजसँगको अन्तर्वार्तामा रुबियोले भने, “म चिनियाँ सरकारलाई इरानलाई फोन गरेर यसबारे कुरा गर्न भन्न चाहन्छु, किनकि चीन पनि आफ्नो तेलको लागि स्ट्रेट अफ हर्मुजमा धेरै निर्भर छ । यदि इरानले जलमार्ग बन्द गर्छ भने यो उनीहरूको लागि आर्थिक आत्महत्या जस्तै हुनेछ । हामीसँग यसको सामना गर्ने विकल्पहरू छन् । तर, अन्य देशहरूले पनि यसमा ध्यान दिनुपर्छ किनकि यसले हामीभन्दा उनीहरूको आर्थिक अवस्थालाई बढी असर गर्नेछ ।”
विश्वभर ग्यास र तेलको आपूर्तिको लागि होर्मुजको जलडमरू रणनीतिक रूपमा महत्त्वपूर्ण छ । यसले मध्य पूर्वका तेल धनी देशहरूलाई एसिया, युरोप र उत्तरी अमेरिका लगायत विश्वका अन्य भागहरूसँग जोड्छ ।
अमेरिकी ऊर्जा सूचना प्रशासन (इआइए) का अनुसार, २०२४ र २०२५ को पहिलो त्रैमासिकमा होर्मुज जलडमरूबाट हुने आवागमनले कुल विश्व समुद्री तेल व्यापारको एक चौथाइभन्दा बढी हिस्सा ओगटेको थियो । यसले तेल र ग्यासँगको विश्वको २० प्रतिशत निर्यात यहि जलमार्गबाट हुने गर्छ ।
Facebook Comment
Comment