अमेरिकी आक्रमणपछि इरानी विदेशमन्त्रीले भने– आणविक अप्रसार सन्धिको उल्लंघन

नेपालभ्युज

अमेरिकी आक्रमणपछि इरानी विदेशमन्त्रीले भने– आणविक अप्रसार सन्धिको उल्लंघन

एजेन्सी । अमेरिकी हमलापछि आफ्नो पहिलो सार्वजनिक टिप्पणीमा इरानी विदेशमन्त्री अब्बास अराघचीले वासिङ्टनले अन्तर्राष्ट्रिय कानुन उल्लंघन गरेको आरोप लगाएका छन् ।

‘संयुक्त राष्ट्र सुरक्षा परिषदको स्थायी सदस्य संयुक्त राज्यले इरानको शान्तिपूर्ण आणविक स्थापनाहरूमाथि आक्रमण गरेर संयुक्त राष्ट्रको बडापत्र, अन्तर्राष्ट्रिय कानुन र आणविक अप्रसार सन्धि (एनपीटी) को गम्भीर उल्लंघन गरेको छ,’ अराघचीले सामाजिक सञ्जालमा लेखेका छन् ।

‘आज बिहानको घटना निन्दनीय छ र यसले स्थायी परिणामहरू निम्त्याउनेछ । संयुक्त राष्ट्रका प्रत्येक सदस्यले यो अत्यन्त खतरनाक, कानुनविपरीत र आपराधिक व्यवहारप्रति चिन्तित हुनुपर्छ ।’

उनले थपे, ‘इरानले आफ्नो सार्वभौमसत्ता, हित र जनताको रक्षा गर्न सबै विकल्पहरू सुरक्षित राख्छ ।’ इजरायलले इरानमाथि आक्रमण गरेको १० दिनमा अमेरिकाले पनि इरानमाथि आक्रमण गरेको छ । अमेरिकी बी–२ बम बर्सक विमानले इरानस्थित सबैभन्दा सुरिक्षत मानिएको फोर्डो आणविक केन्द्रमा बंकर बस्टर बम खसालेको छ । यो आक्रमणले त्यति क्षति नभएको इरानी अधिकारीहरूले प्रारम्भिक दाबी गरेका छन् । तर, क्षतिको विस्तृत विवरण आइसकेको छैन ।

इरानमा आक्रमणपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानबाट जवाफी कारबाही भए थप आक्रमण गर्ने चेतावनी दिएका छन् । दुई दिनअघि मात्र इरानलाई दुई हप्ताको समय दिएका ट्रम्पले एक्कासि आक्रमण गरेका हुन् ।

अमेरिका यो युद्धमा कुदेसँगै मध्यपूर्वमा युद्ध विस्तार हुने जोखिम बढेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved