मोदी र ट्रम्पबीच टेलिफोन वार्ता : आतंकवाद र क्षेत्रीय द्वन्द्वबारे गम्भीर छलफल

नेपालभ्युज

मोदी र ट्रम्पबीच टेलिफोन वार्ता : आतंकवाद र क्षेत्रीय द्वन्द्वबारे गम्भीर छलफल
तस्वीर - बीबीसी

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच मंगलबार टेलिफोन संवाद भएको छ ।

करिब ३५ मिनेटसम्म चलेको उक्त वार्तामा आतंकवाद, भारत–पाकिस्तान सम्बन्ध, इजरायल–इरान द्वन्द्व, रुस–युक्रेन युद्ध तथा हिन्द–प्रशान्त क्षेत्रमा रणनीतिक सहकार्यजस्ता विषयमा छलफल भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

विदेश सचिवद्वारा जारी वक्तव्यअनुसार जी–सेभेन शिखर सम्मेलनको अवसरमा हुने भनिएको भेट राष्ट्रपति ट्रम्प आकस्मिक रूपमा अमेरिका फर्किनुपर्ने कारण स्थगित भएपछि टेलिफोन संवाद भएको हो ।

प्रधानमन्त्री मोदीले राष्ट्रपति ट्रम्पलाई अप्रिल २२ मा पहलगाममा भएको आतंकी हमलापछि भारतले सुरु गरेको ‘अपरेशन सिन्दूर’ को बारेमा जानकारी गराएका थिए । मोदीले पाकिस्तान र पाकिस्तान अधिनस्थ कश्मीरमा रहेका आतंकी शिविरहरूलाई लक्षित गरी मे ६–७ को रातमा गरिएको कारबाही भारतको सन्तुलित, सटीक र गैर-उत्तेजक प्रतिक्रिया भएको बताए ।

प्रधानमन्त्री मोदीले उपराष्ट्रपति भान्ससँग मे ९ मा भएको संवाद र त्यसपछिको घटनाक्रमबारे पनि राष्ट्रपति ट्रम्पलाई जानकारी गराएका थिए । उनले पाकिस्तानको सम्भावित ठूलो आक्रमणको चेतावनी पाएपछि भारतले मे ९–१० को रातमा कडा प्रतिकार गर्दै पाकिस्तानी सैन्य संरचनामा उल्लेखनीय क्षति पुर्‍याएको उल्लेख गरेका छन् ।

मोदीले भारत–पाकिस्तान तनावका क्रममा भारत–अमेरिका व्यापार सम्झौता वा अमेरिकी मध्यस्थताबारे कुनै छलफल नभएको स्पष्ट पारे । पाकिस्तानसँग भएको संवाद पनि दुई मुलुकका सशस्त्र बलबीचको सञ्चारमार्गबाट मात्र भएको उनले बताए । प्रधानमन्त्रीले भारत कहिल्यै पनि तेस्रो पक्षको मध्यस्थता स्वीकार नगर्ने विषयमा भारतभित्र पूर्ण राजनीतिक सहमति रहेको बताए ।

राष्ट्रपति ट्रम्पले आतंकवादविरुद्ध भारतको लडाइँप्रति समर्थन जनाउँदै प्रधानमन्त्रीको भनाइलाई ध्यानपूर्वक सुनेको बताए ।

दुवै नेताबीच इजरायल–इरान तथा रुस–युक्रेन द्वन्द्वबारे पनि छलफल भएको थियो । शान्तिका लागि प्रत्यक्ष वार्ता आवश्यक रहेको र त्यसलाई सहज बनाउन निरन्तर प्रयास गरिनुपर्ने विषयमा दुवैले सहमति जनाएका थिए ।

हिन्द–प्रशान्त क्षेत्रका सन्दर्भमा दुवै नेताले क्वाड (QUAD) समूहको भूमिकालाई महत्वपूर्ण ठहर गर्दै आपसी दृष्टिकोण साझा गरे । प्रधानमन्त्री मोदीले ट्रम्पलाई आगामी क्वाड शिखर सम्मेलनमा भारत भ्रमणका लागि निमन्त्रणा दिएका थिए, जुन ट्रम्पले स्वीकार गर्दै भारत भ्रमणप्रति उत्साह व्यक्त गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved