काठमाडौं । एएफसी एसियन कप फुटबल छनोटअन्तर्गत तेस्रो चरणको दोस्रो खेलमा नेपाल फिफा वरीयतामा १५ स्थान तल रहेको लाओससँग पराजित भएको छ । मंगलबार भएको खेलमा नेपाल घरेलु टोली लाओससँग २–० गोलअन्तरले पराजित भएको हो ।
लाओसको राष्ट्रिय रङ्गशालामा भएको खेलको १३ औँ मिनेटमै दामोथ थोङखामसाथले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । लाओसले फेरि ४९ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनायो । दोस्रो गोल पिटर भान्थाभोङले गरेका हुन् ।
मनीष डाँगीले खेलको ७३ औँ मिनेटमा पेनाल्टीमार्फत सान्त्वना गोल गरेका हुन् ।
यससँगै छनोट चरणमा नेपालले लगातार दोस्रो हार ब्यहोरेको छ ।
लाओससँग खेल्नुअगाडि नेपालले तयारीका लागि तुलनात्मक रूपमा बलियो प्रतिद्वन्द्वी हङकङसँग अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल खेलेको थियाे । जाे गोलरहित बराबरीमा सकिएको थियो ।
तर मंगलबार भने १७५ औँ स्थानमा रहेको नेपाल १९० औँ स्थानको लाओससँग पराजित भएको छ ।
प्रशिक्षक म्याट रसको प्रशिक्षणमा चौथो खेल हो । यसअघि सिंगापुरविरुद्ध नेपालले जित निकाल्दा मलेसियासँग २–० को हार ब्यहोरेको थियो ।
नेपाल सम्मिलित समूहमा लाओस, मलेसिया र भियतनाम रहेका छन् । फिफा वरीयताका आधारमा भियतनाम र मलेसिया नेपाल भन्दा बलिया प्रतिद्वन्द्वी हुन् ।
समूहमा रहेका प्रत्येक टिमले होम एन्ड अवेको आधारमा कुल ६ खेल खेल्नेछन् । यसपछि समूह विजेताले २०२७ मा साउदी अरेबियामा हुने १९ औं एसियन कपमा स्थान बनाउने छ ।
Facebook Comment
Comment