काठमाडौं । भारतीय क्रिकेट टोलीका पूर्व कप्तान महेन्द्रसिंह धोनीलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को हल अफ फेममा समावेश गरिएको छ । आईसीसीले सो घोषणा गरेको हो ।
धोनी यो सम्मान पाउने ११औं भारतीय खेलाडी हुन् । आईसीसीले धोनीको करिअरको बारेमा भन्यो, “१७,२६६ अन्तर्राष्ट्रिय रन, ८२९ क्याच र ५३८ खेल… यी तथ्याङ्कले उनको प्रतिभाको मात्र नभई उनको निरन्तरता, फिटनेस र लामो करिअरको पनि प्रमाण दिन्छ ।”
यस सम्मानप्रति प्रतिक्रिया दिँदै धोनीले भने, “आईसीसी हल अफ फेममा नाम समावेश हुनु मेरो लागि ठूलो सम्मान हो । विश्वभरका दिग्गज खेलाडीहरूको सूचीमा मेरो नाम देख्नु मेरो लागि गर्वको कुरा हो । म यो क्षणलाई सधैं कदर गर्नेछु ।”
सूचीमा ५ पुरुष र २ महिला क्रिकेटर समावेश
आईसीसीले २०२५ को हल अफ फेमको सूचीमा जम्मा ७ खेलाडीलाई समावेश गरेको छ । यसमा ५ पुरुष र २ महिला खेलाडी छन् ।
पुरुष खेलाडीहरूमा दक्षिण अफ्रिकाका हाशिम अमला, धोनी, अष्ट्रेलियाका म्याथ्यू हेडेन, दक्षिण अफ्रिकाका ग्रीम स्मिथ र न्युजिल्याण्डका डेनियल भेटोरी समावेश छन् ।
महिला क्रिकेटरहरूमा पाकिस्तानकी साना मिर र इङ्ग्ल्याण्डकी सारा टेलरले यो सम्मान पाएका छन् ।
तीनवटै आईसीसी ट्रफी जित्ने एक मात्र भारतीय कप्तान
धोनी अहिलेसम्मका एक मात्र भारतीय कप्तान हुन्, जसले भारतलाई तीनवटै आईसीसी ट्रफी – २००७ टी-२० विश्वकप, २०११ एकदिवसीय विश्वकप र २०१३ च्याम्पियन्स ट्रफी – मा जित दिलाएका छन् ।
उनको नेतृत्वमा भारत टेस्टमा पनि नम्बर-१ टोली बनेको थियो । यद्यपि, उनले १५ अगस्ट २०२० मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए । उनी अझै पनि आईपीएल खेलिरहेका छन् । -एजेन्सीको सहयोगमा
Facebook Comment
Comment