समग्रमा नेसन्स लिग

४० वर्षीय रोनाल्डोको रवाफसँगै मेन्डेसको उदय, मार्टिनेजलाई राहत

नेपालभ्युज

४० वर्षीय रोनाल्डोको रवाफसँगै मेन्डेसको उदय, मार्टिनेजलाई राहत

म्युनिख । साेमबार बिहान ४० वर्षको उमेरमा देशका लागि तेस्रो उपाधि जितेपछिको खुसी पोर्चुगल राष्ट्रिय फुटबल टोलीका कप्तान क्रिस्टियानो रोनाल्डोले लुकाउन सकेनन् । उनका आँखामा खुसीका आँशु टलपल देखिन्थे ।

जर्मनीको म्युनिखमा भएको फाइनलमा पोर्चुगलले सदाबहार प्रतिस्पर्धी स्पेनलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै नेसन्स लिगको उपाधि जित्दा रोनाल्डोको भावुक प्रतिक्रिया देख्न पाइयो । उनी ८८औं मिनेटमा मैदानबाट बाहिरिएका थिए, तर त्यसअघि नै उनले खेलमा आफ्नो रवाफ छोडिसकेका थिए ।

खेलको ६१औं मिनेटमा रोनाल्डोले नजिकैबाट गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए । यो उनको अन्तर्राष्ट्रिय करियरको १३८औं गोल थियो, जुन एक कीर्तिमान हो ।

रोनाल्डोले यस सिजन नेसन्स लिगमा ९ खेलमा ८ गोल गरे । यो स्विडेनका भिक्टर ग्योकेरेसभन्दा थोरै कम मात्र हो ।

साउदी अरेबियाको क्लब अल–नासरमा अढाइ वर्ष बिताएका रोनाल्डोका लागि यो उपलब्धि उल्लेखनीय मानिएको छ । यसअघि रोनाल्डोसहितको पोर्चुगिज टिमले सन् २०१६ मा युरोकप र २०१९ मा नेसन्स लिगको उपाधि जितेको थियो ।

स्पेनका लागि भने यो दुःखद समाप्ति रह्यो, जसले २०२३ को नेसन्स लिग र २०२४ को युरो जितेको थियो ।

नायक बने मेन्डेस

यो जितको अर्को नायक बने– पोर्चुगलका नुनो मेन्डेस । स्पेनका युवा स्टार लामिन यमाल पछि छाड्दै मेन्डेसले गोलसमेत गरे । उनले खेलभर स्पेनको आक्रमणलाई जवाफ दिएका थिए ।

२२ वर्षीय मेन्डेसले फाइनलमा उत्कृष्ट खेल प्रदर्शन गर्दै ‘म्यान अफ द म्याच’समेत बने । उनले खेलभरि चार पटक सफल ड्रिबल गरे । विपक्षी क्षेत्रभित्र सर्वाधिक टच लिए, ७ ड्युएल जिते, १६ पास फाइनल थर्डमा पुर्याए र ५ ट्याकल जिते – जुन सबै पोर्चुगिज खेलाडीमध्येकै सबैभन्दा राम्रो तथ्यांक हो ।

फाइनलमा यमाल प्रभावहीन 

स्पेनका युवा सनसनी लामिन यमाल फाइनलमा भने सफल हुन सकेनन् । यमालले चारपटक गोलको प्रयास गरे, तर कुनै पनि प्रयासले पोर्चुगलका गोलकिपर डियोगो कोस्टालाई ठूलो समस्यामा पार्न सकेन ।
फ्रान्सविरुद्धको सेमिफाइनलमा भने उनले सनसनी मच्चाउँदै २ गोल गरेका थिए ।

यसबारे स्पेनका पत्रकार गुइलाम बालागले भने, ‘यमाल आज सिक्ने दिन हो । उनी पूर्णरुपमा निरीह देखिए ।’

मार्टिनेजको जागिर कति सुरक्षित ?

यससँगै पोर्चुगलको कमान्ड सम्हालिरहेका स्पेनिस प्रशिक्षक रोबर्टो मार्टिनेजले आफ्नो अन्तर्राष्ट्रिय प्रशिक्षण करियरको पहिलो उपाधि जितेका छन् ।

बेल्जियमको ‘गोल्डेन जेनरेसन’लाई कुनै उपाधि दिलाउन नसकेका मार्टिनेजको लागि यो उपाधि ठूलो राहत बन्यो ।

यसका बीच पनि पाृेर्चुगल फुटबल महासंघका नयाँ अध्यक्ष पेड्रो पोरिन्काले जोर्गे जिसस वा जोसे मोरिन्होलाई प्रशिक्षक बनाउने इच्छा राखेको चर्चा चलिरहेको छ ।

यद्यपि अब मार्टिनेजलाई हटाउने परिस्थिति प्रतिकुल बनेको पत्रकार बालाग बताउँछन् । भन्छन्, ‘मार्टिनेजले नेसन्स लिग जिताए । सायद अब उनलाई हटाउने योजना समाप्त भयो ।’

निष्कर्ष

उमेर केवल संख्या हो भन्ने रोनाल्डोले फेरि प्रमाणित गरे । मेन्डेसजस्ता नयाँ खेलाडीहरूले भने पोर्चुगलको भविष्य उज्ज्वल बनाउने संकेत दिएका छन् । प्रशिक्षक मार्टिनेजको भविष्य अझै अनिश्चित भए तापनि, यो उपाधिले उनलाई राहत दिएको छ । –बीबीसीको सहयाेगमा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved