लेवान्डोस्कीले दिए पोल्याण्डको राष्ट्रिय टोलीबाट राजीनामा, प्रोबिएर्जप्रति विश्वास गुमेको आरोप

नेपालभ्युज

लेवान्डोस्कीले दिए  पोल्याण्डको राष्ट्रिय टोलीबाट राजीनामा, प्रोबिएर्जप्रति विश्वास गुमेको आरोप

काठमाडौं । पोल्याण्डका सर्वाधिक गोलकर्ता रोबर्ट लेवान्डोस्कीले मुख्य प्रशिक्षक माइकल प्रोबिएर्जको नेतृत्वमा राष्ट्रिय टोलीबाट नखेल्ने घोषणा गरेका छन्। कप्तान पदबाट हटाइएलगत्तै ३६ वर्षीय स्ट्राइकरले प्रशिक्षकमाथि ‘विश्वास गुमेको’ भन्दै यस्तो निर्णय गरेका हुन्।

लेवान्डोस्कीले पोल्याण्डका लागि १५८ खेलमा ८५ गोल गरेका छन्, तर हाल जारी अन्तर्राष्ट्रिय विन्डोमा उनी राष्ट्रिय टोलीमा समावेश छैनन्।

आइतबार पोल्याण्ड फुटबल संघले जारी गरेको एक विज्ञप्तिमा प्रोबिएर्जले  व्यक्तिगतरूपमा रोबर्ट लेवान्डोस्की, सम्पूर्ण टोली र प्रशिक्षण स्टाफलाई आफ्नो निर्णयबारे जानकारी गराएको उल्लेख छ ।  जसमा इन्टर मिलानका मिडफिल्डर पिओटर जिलिन्स्कीलाई नयाँ कप्तान नियुक्त गरिएको छ।

यस निर्णयपछि बार्सिलोनाका खेलाडी लेवान्डोस्कीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘परिस्थिति र प्रशिक्षकमाथिको विश्वास गुमेको कुरालाई ध्यानमा राख्दै, जबसम्म   प्रोबिएर्ज प्रशिक्षक रहनुहुन्छ, तबसम्म पोल्याण्ड राष्ट्रिय टोलीबाट खेल्न छोड्ने निर्णय गरेको छु।’ उनले थपे, “मलाई आशा छ कि विश्वका उत्कृष्ट प्रशंसकहरूका लागि फेरि खेल्ने मौका पाउनेछु।”

पोल्याण्ड फुटबल संघले पनि सोमबार फिनल्याण्डसँगको मंगलबारको विश्वकप छनोट खेलअघि प्रशिक्षक प्रोबिएर्जले पत्रकार सम्मेलनमा जिलिन्स्कीसँगै प्रश्नहरूको जवाफ दिने बताएको छ।

प्रोबिएर्जले सन् २०२३ को सेप्टेम्बरमा प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए। उनको नेतृत्वमा पोल्याण्ड युरो २०२४ मा आफ्नो समूहको पुछारमा रहेर प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बनेको थियो। यद्यपि, पोल्याण्डले विश्वकप २०२६ को छनोटमा दुई खेलबाट दुई जित हासिल गर्दै आफ्नो समूहको शीर्ष स्थानमा छ, जबकि नेदरल्याण्ड्स एक खेलबाट तीन अंकसहित तेस्रो स्थानमा छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved