बुटवल । अर्थशास्त्री विश्लेषक एवं लेखक मनिकर कार्कीको नयाँ पुस्तक ‘अर्थदृष्टि अल्पविकासको अर्थ–राजनीति’को बुटवलमा विमर्श भएको छ ।
नेपालको आर्थिक विकासको स्वरुप, समाज र अर्थतन्त्रको चरित्र एवं त्यसका जटिलता र चुनौतीहरूलाई गहन रूपमा विश्लेषण गरिएको सो पुस्तकको शनिवार बुटवलमा विमर्श गरिएको हो ।
विमर्श कार्यक्रममा बोल्दै नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले अर्थराजनीति समाज रुपान्तरणका लागि आवश्यक रहेको बताए । साथै, उनले उक्त पुस्तकले नेपालको अर्थराजनीतिको सम्रग विषय समेटेको बताउँदै राजनीतिज्ञदेखि विद्यार्थी वर्गसम्मका लागि उपयोगि रहेको बताए ।
नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नेपालमा वडा देखि केन्द्रसम्म सत्ता र शक्तिको दुरुपयोग गर्ने झुण्ड तयार भई चलखेल गर्ने गरेको बताएका छन् । अर्थशास्त्री मनिकर कार्कीको ‘अर्थदृष्टि’ पुस्तकको बुटवल विमर्श कार्यक्रममा वक्ताका रुपमा बोल्दै भुसालले सत्ताको दोहन गर्नेहरु राजनीतिक कार्यकर्ताहरुको ठूलै पल्टन जस्तै संगठित समूह बनेको बताएका हुन् ।
उनले नेपालको अर्थतन्त्र दलाल पुँजीवाद रहेकाले यसले रोजगारी र सुशासन ल्याउन नसकेको बताए । ‘नेपाली अर्थतन्त्रको चरित्र नफेरेसम्म मुलुकको विकास र प्रगती हुँदैन । नेपालको विकास नहुनुको पछाडि बौद्धिक क्षेत्रको भूमिका पनि छ । किनकी बौद्धिक क्षेत्रले मात्रै आलोचनात्मक हिसाबले दल र नेताहरुलाई सुधार गर्न सक्ने ल्याकत राख्छन्,’ उनले भने ।

लुम्बिनी बौद्ध विश्वविद्यालयका परीक्षा नियन्त्रक इन्द्र काफ्ले, लुम्बिनी वाणिज्य क्याम्पसकी प्राध्यापक विष्णु जोशी , बुटवल बहुमुखी क्याम्पसका प्राध्यापक डा. सञ्जयकुमार कर्णले पुस्तक इतिहासलाई गहिरोसम्म अध्ययन गरी तथ्यमा आधारित रहेर लेखिएको बताए । यस्तै, युवाहरुलाई सन्देश समेत दिएको र नीतिनिर्माता तथा राजनीतिज्ञहरुले उक्त पुस्तकको अध्ययन गर्न आवश्यक रहेको बताए ।
लेखक मनिकर कार्कीले आफुले आम नागरिकहरुको मनमा लेखेका कुराहरुलाई पुस्तकमा लेखेको बताए । साथै समाजलाई दिशाबोध गराउन पुस्तक लेख्न आवश्यक ठानेर आफुले पुस्तक लेखेको बताए । पुस्तकको जेठ ९ गते काठमाडौंमा विमोचन गरेका थिए ।
Facebook Comment
Comment