काठमाडौं । स्पेनको प्रसिद्ध फुटबल क्लब रियल म्याड्रिडले जाबी आलोन्सोलाई आगामी तीन सिजनका लागि टिमको मुख्य प्रशिक्षकको रूपमा नियुक्त गरेको आधिकारिक घोषणा गरेको छ । लामो समयदेखि प्रशिक्षक कार्लो एन्सेलोट्टीको भविष्यबारे अनिश्चितता र छलफल चलिरहेकै अवस्थामा क्लबले नयाँ योजना र रणनीतिक दृष्ट्रिकोणलाई आत्मसात गर्दै पूर्वखेलाडी आलोन्सोलाई जिम्मेवारी सुम्पिएको हो ।
लेभरकुसेनमा सफलताको कथा
स्पेनका पूर्वअन्तर्राष्ट्रिय खेलाडी आलोन्सोले जर्मन क्लब बायर लेभरकुसेनको प्रशिक्षण सम्हालेर क्लबलाई बुन्डेसलिगा उपाधि अपराजित रहँदै जिताउने अद्वितीय सफलता हासिल गरेका थिए । उनले क्लबलाई डीएफबी–पोकल (सुपरकप) जिताउँदै युरोपभर प्रशंसा कमाए । अलोन्सोको आधुनिक, बहुआयामिक र प्रतिस्पर्धात्मक फुटबल शैलीले उनलाई युरोपकै एक उत्कृष्ट युवा प्रशिक्षकको रूपमा स्थापित गर्यो ।
रणनीति र दर्शन
बास्क मूलका प्रशिक्षक आलोन्सो तीनजना केन्द्रीय डिफेन्डरसहितको रणनीति अपनाउन रुचाउँछन्, जसले खेलको नियन्त्रण पछाडिबाटै लिन सहयोग गर्छ र बलको निकासमा सङ्ख्यात्मक अग्रता प्रदान गर्छ । उच्च प्रेसिङ, तीव्र ट्रान्जिसन र बलको स्वामित्वमा आधारित उनको खेलशैली जर्मनीमा अत्यन्तै सफल सावित भएको थियो ।
क्लबसँगको गहिरो सम्बन्ध
रियलका लागि पाँच सिजन खेलिसकेका आलोन्सो क्लबमा एक सन्तुलित, धैर्यवान र प्रविधिसम्पन्न मिडफिल्डरका रूपमा स्मरणीय छन् । अहिले उनी प्रशिक्षकको भूमिकामा फर्किएर आफ्नै इतिहासको नयाँ अध्याय लेख्न आएको फुटबल पण्डितहरूको विश्लेषण छ ।
रियलले सार्वजनिक गरेको सूचनाअनुसार आलोन्सो २०२५ जुन १ देखि २०२८ जुन ३० सम्मका लागि क्लबको मुख्य प्रशिक्षक रहनेछन् ।
यस्तो छ पृष्ठभूमि
स्पेनको राष्ट्रिय टोलीका लागि ११३ खेल खेलेका आलोन्सो २०१० को विश्वकप र २००८ र २०१२ को युरो कप विजेता टोलीका सदस्य थिए । प्रशिक्षकका रूपमा उनको करियर रियलको युथ एकेडेमी (इन्फान्टिल ‘ए’ टिम) बाट सुरु भएको हो, जहाँ उनले टोलीलाई लिग र च्याम्पियन्स टुर्नामेन्ट जिताएका थिए ।
रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले उनलाई क्लबमा स्वागत गर्दै अनुबन्धमा औपचारिक हस्ताक्षर गर्नेछन् । त्यसपछि आलोन्सोले पत्रकार सम्मेलनमार्फत आफ्ना योजनाहरू सार्वजनिक गर्नेछन् ।
रियलमा खेलाडीको रुपमा रहँदा आलोन्सोले एक–एक वटा च्याम्पियन्स लिग र ला लिगालगायत केही महत्वपूर्ण उपाधि जितेका थिए । अबको उनको यो नयाँ युग सफल, प्रेरणादायक र ट्रफीले भरिएको हुने विश्वास गरिएको छ । -एजेन्सीको सहयोगमा
Facebook Comment
Comment