काठमाडौं । डा. विश्वनाथ पौडेल राष्ट्र बैंकको गभर्नर नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद् बैठकले उनलाई गभर्नर नियुक्त गर्ने निर्णय गरेको हो ।
अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा रहेको सिफारिस समितिले उनको नाम एक नम्बरमा राखेर सूची मन्त्रिपरिषद्मा पठाएको थियो । जस अनुसार, पहिलो नम्बरमा पौडेल, दोस्रो नम्बरमा कामु गभर्नर निलम ढुंगाना र तेस्रो नम्बरमा पूर्वसचिव दिनेश भट्टराई रहेका छन् ।
यससँगै राष्ट्र बैङ्कमा डेढ महिनादेखि रिक्त रहेको गभर्नर पदमा नियुक्ति भएको छ । चैत २३ गते महाप्रसाद अधिकारीको पाँच वर्षे कार्यकाल सकिएपछि उक्त पद रिक्त थियो ।
चैत ११ गते बसेको मन्त्रिपरिषद् बैठकले गभर्नर नियुक्तिका लागि सिफारिस समिति गठन गरे पनि सत्तारुढ दल नेपाली काँग्रेस र एमालेबीच सहमति जुट्न सकेको थिएन । आजै प्रधानमन्त्री ओली र सत्ता साझेदार दल काँग्रेसका सभापति शेरबहादुर देउवाबीच पौडेललाई गभर्नर नियुक्त गर्ने सहमति भएको थियो ।
पौडेल कांग्रेसको कोटामा गभर्नर बनेका हुन् । त्यसअघि कांग्रेसले डा. गुणाकर भट्टलाई गभर्नर बनाउन खोजेको थियो । तर उनको राजीनामा स्वीकृत नभएपछि पौडेलले अवसर पाएका हुन् ।
Facebook Comment
Comment