काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले मिटर ब्याज पीडितलाई न्याय दिन भइरहेको ढिलासुस्तीको विरोध गर्दै तत्काल न्याय दिन माग गरेकी छिन् ।
प्रतिनिधिसभामा बोल्दै श्रेष्ठले पूर्व न्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले दिएको सुझाव कार्यान्वयन गर्दै पूर्व न्यायाधीश तेजबहादुर कार्कीको आयोगको कार्यविधि स्वीकृत गर्ने हो भने ८० प्रतिशत समस्या हुने उनले बताइन् ।
सरकारले पीडितहरूको आन्दोलन गिजोल्ने काम गरेको उनको भनाइ छ । ‘आयोगमाथि आयोग थपेर पीडितको समस्या गिजोल्ने काम नगरौँ,’ उनले भनिन् ।
मिटरब्याज पीडितलाई सिंहदबार प्रवेशमा रोक लगाएकोप्रति उनले आपत्ति प्रकट गरिन् । ‘मिटरब्याज पीडितलाई सिंहदरबारमा नो इन्ट्री भनिएको छ । आफ्नो पार्टीको साहु महाजन जोगाउन पीडितमाथि मजाक नगरौँ,’ उनले भनिन् ।
जेठ ४ गते जाँचबुझ आयोगका पदाधिकारीलाई भेट्न पुगेका मिटर ब्याज पीडितलाई ३ घण्टा कुराउँदै सिंहदरबार प्रवेश गर्न दिइएको थिएन ।
नयाँ आयोग गठन भएको २ महिनासम्म पनि पीडितसँग सम्पर्क नगरेपछि पीडितहरू पदाधिकारीसँग छलफलका लागि सिंहदरबार जान लागेका थिए ।
Facebook Comment
Comment