काठमाडौं । भारतका वनमन्त्री भूपेन्द्र यादवले काठमाडौंमा आयोजित प्रथम सगरमाथा संवादमा कमजोर पर्वतीय पारिस्थितिक प्रणालीको संरक्षण गर्न ‘वैश्विक कारबाहीका लागि पाँच बुँदे आह्वान’को रुपरेखा प्रस्तुत गरेका छन् ।
शुक्रबार भएको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले अन्तरराष्ट्रिय बिग क्याट्स एलायन्सअन्तर्गत सहयोग गर्न सबै हिमाली देशलाई आह्वान गरे ।
मन्त्री यादवले जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि चालिएको वैश्विक साझेदारीप्रति भारतको अटल प्रतिबद्धता रहेको बताए । उनले हिमालय र अन्य पर्वतीय सुरक्षाका लागि सहयोगी प्रयासहरूको आवश्यकतामा जोड दिए । उनले वैश्विक जलवायु सङ्कटलाई सम्बोधन गर्न भारत तत्पर रहेको बताए ।
उनले भने, ‘यस ऐतिहासिक भेलामा भारतको प्रतिनिधित्व गर्न पाउनु गहिरो सम्मानको कुरा हो । सगरमाथा नाम, जसको अर्थ ‘आकाशको शिर’ हो, यसले हाम्रो ग्रहको जीवनरक्त बनाउने हिमालहरूको संरक्षणमा हामीले वहन गर्ने महिमा र जिम्मेवारीलाई उचित रूपमा समेट्छ ।’
मन्त्री यादवले संवाद आयोजना गरेकोमा नेपालको प्रशंसा गरे । ‘भारत आफ्नो विशाल हिमाली क्षेत्रको साथ आफ्ना पहाडी छिमेकीहरूसँग परिस्थिति र सांस्कृतिक सम्बन्ध साझा गर्दछ,’ उनले थपे, ‘दक्षिण एसियाले वैश्विक जनसंख्याको लगभग २५ प्रतिशत हिस्सा ओगटेको भए तापनि ऐतिहासिक वैश्विक सीओ–२ उत्सर्जनको ४ प्रतिशत मात्र ओगटेको छ ।’
जलवायु सङ्कटको बोझ विकासशील राष्ट्रहरूमा असमान रूपमा परिरहेको मन्त्री यादवले औँल्याए । ‘जबकि, विकसित देशहरू जलवायु वित्त, प्रविधि हस्तान्तरण र क्षमता निर्माणप्रति आफ्नो प्रतिबद्धता पूरा गर्नबाट टाढा छन्,’ उनले भने ।
मन्त्री यादवले सीमा पार संरक्षण प्रयासहरूलाई बढाउनुपर्ने आवश्यकतामा जोड दिँदै सबै हिमाली राष्ट्रलाई हिउँ चितुवा, बाघ र चितुवाजस्ता प्रजातिका लागि संयुक्त संरक्षण पहलहरूलाई समर्थन गर्न अन्तर्राष्ट्रिय बिग क्याट्स एलायन्स अन्तर्गत सहकार्य गर्न आह्वान गरे ।
सो अवसरमा मन्त्री यादवले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा सुरु गरिएको परियोजना हिउँ चितुवाको महत्त्वबारे प्रकाश पारेका थिए ।
यो कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, चीनको नेसनल पीपुल्स कङ्ग्रेसका उपाध्यक्ष सियाओ जी र सीओपी–२९ का अध्यक्ष तथा अजरबैजानका मन्त्री मुख्तार बाबायेभ लगायतको सहभागिता थियो ।
भारतका वनमन्त्रीसँग प्रधानमन्त्रीको प्रस्ताव : सगरमाथा संवादजस्ता सम्मेलन फेरि आयोजना गरौं
Facebook Comment
Comment