काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले देश समृद्धितर्फ अघि बढ्ने र समाजवादमा पुग्ने लक्ष्यसहितको बजेट ल्याइने बताएका छन् ।
बजेटका प्राथमिकता र सिद्धान्तमाथि (प्रिबजेट)को छलफलका क्रममा उठेका प्रश्नको शुक्रबार प्रतिनिधिसभामा जवाफ दिँदै उनले समाजवादको जग बसाल्नु बजेटको लक्ष्य हुने बताए ।
गरिबी बढ्ने समाजवाद नभइ समृद्धि बढ्ने समाजवादको जग बसाल्नु बजेटको लक्ष्य हुने अर्धमन्त्री पौडेलले स्पष्ट पारे ।
उत्पादनमार्फत् राष्ट्रिय आयमा वृद्धि र त्यसमा नागरिकको पहुँच स्थापना गर्ने लक्ष हासिल गर्ने ढंगले नयाँ बजेट आउने पनि उनले बताए ।
अर्धमन्त्री पौडेलले कसैलाई विभेद नगरी बजेट वितरण गरिने प्रतिबद्धता जनाए । सांसदहरूले उठाएका विषय समेटेर बजेट ल्याइने उनको भनाइ थियो ।
‘संविधानमा सचेतन ढंगले समाजवाद भन्ने पदावली प्रयोग गरेका थियौं । हामी गरिबी बढ्ने समाजवाद होइन, समृद्धि बढ्ने समाजवादको कुरा गरिरहेका छौं’, मन्त्री पौडेलले भने, ‘सामाजिक उत्पादनमा आमनागरिकको न्यायपूर्ण पहुँच समाजवादको अर्थ यही हो । सरकारमा रहेका दलमात्र होइन अरु पनि सहमत छन् ।’
यही जेठ १५ गते सरकारले संसद्मा बजेट प्रस्तु गर्दै छ ।
Facebook Comment
Comment