ईभीमा कर नघटाए पलायन हुने अवस्थामा पुग्छौँ : व्यवसायी तुलाचन  

नेपालभ्युज

ईभीमा कर नघटाए पलायन हुने अवस्थामा पुग्छौँ : व्यवसायी तुलाचन  

काठमाडौं । सरकारले विद्युतीय सवारी साधन (ईभी) मा कर नघटाए व्यवसायबाट पलायन हुनुपर्ने अवस्था आउने व्यवसायी सोमप्रसाद तुलाचनले बताएका छन् । सरकारको कसिलो नीतिले ईभी व्यवसायीलाई व्यावसायिक वातावरण दिन नसकेको उनको भनाइ छ ।

राज्यले नै प्राथमिकतामा राखेपछि इलेक्ट्रिक भेइकल (ईभी) मा लगानी गरेका तुलाचन राज्यले लिएको कर नीतिप्रति सन्तुष्ट छैनन् । बालाजु यातायात प्रालिको अध्यक्षसमेत रहेका तुलाचन सरकारले ईभीमा कर घटाउँदै अन्य वातावरण नबनाउने हो भने आफूहरू व्यवसायबाट पलायन हुनुपर्ने अवस्थामा पुग्नुपर्ने बताउँछन् ।

पुनः सरकारले आगामी आर्थिक वर्षको बजेट भाषणबाट ईभीमा करको दायरा बढाउने तयारी गरेको सुइँको पाएका तुलाचन लगायत यातायात व्यवसायीहरू थप मर्कामा पर्ने गुनासो गरिरहेका छन् ।

‘राज्यले सुरुको वर्षमा १ प्रतिशत मात्रै कर लगाएको थियो, तर गत वर्षबाट १० प्रतिशत पुर्‍याएको छ । अहिले पनि बढाउन लागेको छ भन्ने सुनेको छु, यदि त्यसो भएमा व्यवसायीहरूले मार खान्छन् अनि व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था हुन्छ ।’ उनले भने ‘यो १४ सिटे माइक्रो बस ३०–३५ लाखमा पाएको भए सबै व्यवसायीहरूले आँटेर काम गर्थे तर करको दायरा बढाउँदा त्यसकै मूल्य ५० लाख माथि पुग्छ अनि कसरी व्यवसायीहरूले लगानी गर्ने ?,’ उनी प्रश्न गर्छन् ।

त्यति मात्र नभई नेपाल राष्ट्र बैङ्कले ‘लोन टू भ्यालु रेसियो’ को दायरासमेत घटाएको छ । पहिले २० प्रतिशत लगानी गरेमा ८० प्रतिशत बैङ्कले लगानी गर्ने गरेको थियो । तर राष्ट्र बैङ्कले त्यसलाई उल्ट्याएर ४० प्रतिशत लगानी गर्नुपर्ने बाध्यकारी व्यवस्था सिर्जना गरेको छ । जसका कारण व्यवसायीहरूले आँटेर लगानी गर्न सक्ने अवस्थामा नरहेको उनको भनाइ छ ।

‘म सामान्य व्यवसायी हुँ, राज्यले के नीति ल्याएको हो मैले अहिलेसम्म बुझ्न सकेको छैन । ईभीमा लगानी गर्नेहरूलाई पहिलेको २०/८० को लोनको दायरालाई घटाएर अहिले ४०/६० भनेर बनाएको छ । यसको मतलब कमजोर व्यवसायीलाई तँ काम नै नगर भन्न खोजेको हो कि,’ उनी गुनासो गर्छन्, ‘अझ बर्सेनि कमर्सियल ईभी भेइकलमा बढाइरहेको करले राज्य व्यवसायीलाई देशमा नबस भनिरहेको जस्तो पो देखिन्छ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved