काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ढल्केबर मुजफरपुर ४०० केभी डबल सर्किट लाइनमा एकैसाथ समस्या आउँदा बिहीबार साँझ लाइन गएको जनाएको छ ।
शुक्रबार पत्रकार सम्मेलन गर्दै प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले ढल्केबर आसपासको क्षेत्रमा अति उच्च वेगका साथ चलेको हावाहुरीको कारण सर्किटमा समस्या देखिँदा लाइन गएको जनाए । प्राधिकरणले लोडसेडिङ हुने भन्ने हल्लाप्रति गम्भीर आपत्ति जनाएको छ ।
शुक्रबार जारी प्रेस नोटमा लेखिएको छ, ‘मौसमजन्य गतिविधिका कारण विद्युतीय संरचनामा भएको क्षति तथा देखिएको प्राविधिक समस्याका कारण सिर्जना भएको प्रतिकूल अवस्थालाई लोडसेडिङसँग जोडेर अब इन्भर्टर र मैनबत्तीको समय आए भन्दै सामाजिक सञ्जालमा अभिव्यक्त भनाइप्रति कत्ति पनि सत्यता नरहेको जानकारी गराउँदछौँ ।’
शाक्यले शुक्रबार प्राधिकरणको हालको भारवहन क्षमताको पनि अवलोकन गरेका छन् ।
Facebook Comment
Comment