काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले यो समय नै यस्तै भएकाले बेलाबेला लाइन जाने गरेको बताएका छन् । शुक्रबार आकस्मिक पत्रकार सम्मेलन गर्दै कार्यकारी निर्देशक शाक्यले यो हावाहुरीको समय भएकाले बेलाबेला लाइन जाने गरेको बताएका हुन् ।
उनले लाइन जानुको कारणहरूमा हावाहुरीको समय, माग बढी हुँदा सिस्टममा परेको मारलगायतलाई औंलाएका छन् ।
‘पहिला म आउँदा पनि यस्तै प्रश्न उठेको थियो । यो बेला हुरी बतासको समय छ, त्यसले तारहरू चुडिनसक्ने वा कहाँ केही हुनसक्ने हुँदा लाइन जान्छ । तर सबैतिर एकैचोटी लाइन जानु चाहिँ सिस्टम विक हुनु हो । सिस्टम सबल बनाउन फाइनान्स कम छ, यो अवरोध हटाउन म फरक तरिकाले लागिरहेको छु,’ उनले भने ।
बिहीबार साँझ भारतमा समस्या आउँदा ढल्केबर सवस्टेसनमा देखिएको समस्याका कारण नेपालका केही भाग करिब साढे २ घण्टा अन्धकारमय भएको थियो । त्यसपश्चात्, सामाजिक सञ्जालमा फेरि लोडसेडिङको सङ्केत भएको भन्दै शाक्यको व्यापक आलोचना भएको थियो ।
Facebook Comment
Comment