एजेन्सी । टर्कीमा हुने युक्रेन-रुस शान्ति वार्तामा सफलताको सम्भावना कम रहेको अमेरिकी शीर्ष कूटनीतिज्ञ मार्को रुबियोले बताएका छन्।
रुबीयोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच प्रत्यक्ष भेट नभएसम्म प्रगति हुन नसक्ने दाबी गरेको बीबीसीले उल्लेख गरेको छ ।
दक्षिण टर्कीमा नाटोका विदेशमन्त्रीहरूको बैठकपछि उनले भने, “मलाई लाग्दैन कि राष्ट्रपति ट्रम्प र पुटिनले यस विषयमा प्रत्यक्ष कुराकानी नगरेसम्म यहाँ कुनै सफलता मिल्नेछ।”
युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले इस्तानबुलमा हुने वार्ताका लागि युक्रेनले प्रतिनिधिमण्डल पठाउने पुष्टि गरेका छन् । उनले मस्कोले पठाएको प्रतिनिधिमण्डलको भने आलोचना गरेका छन्।
युक्रेनी प्रतिनिधिमण्डलको नेतृत्व रक्षा मन्त्री रुस्टेम उमेरोभले गर्नेछन्। जसमा गुप्तचर, सैन्य जनरल स्टाफ र विदेश मन्त्रालयका उपप्रमुखहरू पनि सहभागी हुनेछन्।
यस्तै रुसी प्रतिनिधिमण्डलको नेतृत्व भने मेडिन्स्कीले गर्ने क्रेमलिनले जनाएको छ। प्रतिनिधिमण्डलमा रुसका उप-रक्षा मन्त्री, उप-विदेश मन्त्री र सैन्य गुप्तचर प्रमुख पनि सहभागी हुनेछन्। मेडिन्स्कीले सन् २०२२ मा युक्रेनसँगको असफल वार्ताको नेतृत्व पनि गरेका थिए ।
यसअघि मध्यपूर्व भ्रमणमा रहेका ट्रम्पले पनि आफू र पुटिनबीच प्रत्यक्ष भेट नभएसम्म शान्ति वार्तामा महत्वपूर्ण प्रगति हुने सम्भावना नरहेको बताएका थिए। एयर फोर्स वनमा बीबीसीसँग कुरा गर्दै उनले रुसी प्रतिनिधिमण्डलको स्तरबाट आफू निराश भएको बताए।
टर्की, अमेरिका, युक्रेन र रुसका प्रतिनिधिमण्डलहरू सन् २०२२ यता पहिलो पटक प्रत्यक्ष युक्रेन-रुस वार्ताका लागि बिहीबार इस्तानबुलमा भेट्ने तय भएपनि साँझसम्म वार्ताको समय तय नभएको मिडिया रिपोर्टमा जनाइएको छ । केही रिपोर्टहरूले भने वार्ता शुक्रबार हुन सक्ने बताएका छन् ।
भ्लादिमिर पुटिनले युरोपेली नेताहरू र युक्रेनले ३० दिने बिना शर्त युद्धविरामको आह्वान गरेपछि मे १५ मा इस्तानबुलमा प्रत्यक्ष वार्ताको प्रस्ताव गरेका थिए।
Facebook Comment
Comment