अवधि नसकिँदै १३ देशका राजदूत फिर्ता हुँदा राज्यको पौने ३ करोड खर्च

नेपालभ्युज

अवधि नसकिँदै १३ देशका राजदूत फिर्ता हुँदा राज्यको पौने ३ करोड खर्च

काठमाडौं । विभिन्न देशका राजदूतहरू समय अगावै स्वदेश फर्किँदा राज्यको पौने ३ करोड खर्च भएको छ ।

महालेखापरीक्षक कार्यालयले बुधवार सार्वजनिक गरेको ६२औँ प्रतिवेदनअनुसार तोकिएको अवधि अगावै १३ देशका राजदूत स्वदेश फिर्ता हुँदा रु. २ करोड ८६ लाख ६९ हजार खर्च लागेको हो ।

राजदूत नियुक्तिसम्बन्धी निर्देशिका, २०७५ को दफा ८ (क) मा राजदूतको पदावधि नियोगमा हाजिर भएको मितिले ४ वर्षको हुने उल्लेख छ । तर, अवधि सकिनु अगावै स्वदेश फर्किएका भारत, अमेरिका, बेलायत, साउदी अरब, दक्षिण कोरिया, मलेसिया, स्पेन, डेनमार्क, इजरायल, कतार, चीन, रसिया र श्रीलङ्कासमेत १३ देशका राजदूत स्वदेश फर्किँदा उक्त रकम खर्च भएको हो ।

प्रतिवेदनमा उल्लेख छ, ‘१३ देशका राजदूत स्वदेश फर्किँदा बिमा बापत रु. १ करोड १३ लाख ९६ हजार, हवाई टिकट बापत रु. १ करोड २४ लाख ४३ हजार र ढुवानीबापत रु. ४८ लाख ३० हजारसमेत रु.२ करोड ८६ लाख ६९ हजार खर्च भएको देखिन्छ ।’

कार्य अवधि पूरा नहुँदै राजदूत फिर्ता गर्दा बिमा, हवाई टिकट तथा ढुवानीमा सोही अनुपातमा खर्च हुने हुँदा राज्यको दायित्व बढ्ने देखिएको महालेखाको भनाइ छ ।

महालेखाले परराष्ट्र मन्त्रालय अन्तर्गतका ४४ सरकारी कार्यालयको रु २औ अर्ब ४२ करोड ९९ लाखको लेखापरीक्षण सम्पन्न गरेको जनाएको छ । त्यसमध्ये यस वर्षको लेखापरीक्षणबाट परराष्ट्र मन्त्रालयमा १ अर्ब ५ करोडभन्दा बढीको बेरुजु देखिएको जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved