नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

नेपालभ्युज

नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नेपालमा रेल सेवाको विकास र विस्तारमा ढुक्क भएर लगानी गर्न दक्षिण कोरियालाई आग्रह गरेका छन् ।

मङ्गलबार दक्षिण कोरियाली रेल कम्पनी कोरेलका प्रतिनिधिसँगको भेटमा उनले रेल सेवा नेपाल सरकारको पनि प्राथमिकताको विषय भएका भन्दै लगानीका लागि आग्रह गरेका हुन्।

मन्त्री दाहालले यहाँका धार्मिक, सांस्कृतिक तथा पर्यटकीय गन्तव्यहरूलाई लक्षित गरी रेल सेवाको विस्तारको अध्ययन, अनुसन्धानका लागि समेत आग्रह गरे । लामो तथा छोटो दूरीको रेल सेवा विस्तारका लागि नेपालले लगानीको वातावरण बनाइरहेको उल्लेख गर्दै उनले लगानीका ‘मोडल’ बारे छलफल गर्न सकिने बताए ।

मन्त्रालयका सचिव केशवकुमार शर्माले नेपालमा जलविद्युत् उत्पादनको प्रचुर सम्भावना रहेकाले विद्युतीय रेलमार्ग विस्तार उपयोगी हुने बताए ।

लगानी बोर्डका कार्यकारी अधिकृत सुशील ज्ञवालीले नेपालमा रेल मार्गको विकास र विस्तारका लागि दुवै देशका विज्ञहरू मिलेर विभिन्न मोडलमा अध्ययन गरिने बताए । त्यसका लागि केहि दिनभित्रै दुवै देशका विज्ञ सम्मिलित कार्यदल गठन गरिने उनले जानकारी दिए ।

छलफलमा रेल विभागका महानिर्देशक अजय मूलले नेपालमा रेलमार्ग विकासका लागि विभिन्न साझेदारहरूसँग छलफल भइरहेको बताए ।

कोरियाली प्रतिनिधिमण्डलको नेतृत्व गरेका कोरेलका प्रमुख कार्यकारी हान मुन हीले १२६ वर्ष पुरानो कम्पनीले विश्वका विभिन्न देशमा रेलमार्ग विकास र विस्तारका लागि कार्य गर्दै आएको बताए । नेपालमा अध्ययन तथा लगानीका लागि नेपाली पक्ष र कोरेलबीच विश्वासको वातावरण बनाई थप कार्य अघि बढाउन सकिने उनको भनाइ थियो ।  रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved