काठमाडौं । प्यालेस्टिनी लडाकु समूह हमासले इजरायली–अमेरिकी नागरिक एडन अलेक्ज्यान्डरलाई रिहा गरेको छ । १९ महिनाअघि बन्धक बनाइएका उनलाई सोमबार राति गाजा सिटीको खान युनिस क्षेत्रबाट रिहा गरिएको हो ।
२१ वर्षीय अलेक्ज्यान्डर अमेरिकाबाट आएर इजरायली सेनामा भर्ना भएका व्यक्ति हुन् । उनी २०२३ को अक्टोबर ७ मा हमासको आक्रमणताका अपहरणमा परेका थिए ।
अलेक्ज्यान्डरको रिहाइलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यपूर्व भ्रमणको पूर्वसन्ध्या र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको आलोचनासँग जोडेर हामासले एकपक्षीय ढंगमा ‘अमेरिकाप्रति सद्भावना’को रूपमा प्रस्तुत गरेको विश्लेषण गरिएको छ । तर, नेतन्याहूले कुनै पनि सम्झौतामा नपुगेको र इजरायलको सैन्य अभियान जारी राख्ने बताएका छन् ।
अलेक्ज्यान्डर गाजामा हमासद्वारा बन्धक बनाइएका अन्तिम जीवित अमेरिकी नागरिक हुन् ।
उनको रिहाइसँगै ५८ अपहृतमध्ये २३ जना जीवित रहेको अनुमान गरिएको छ । अलेक्ज्यान्डरको परिवारले उनको रिहाइलाई स्वागत गर्दै राष्ट्रपति ट्रम्पलाई सार्वजनिक रुपमा धन्यवाद दिएका छन् ।
हमासको यो निर्णय यस्तो समयमा आएको हो, जब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मङ्गलबार मध्यपूर्वको भ्रमणमा जाँदैछन् ।
हमासले यसले गाजाका जनतालाई मानवीय सहायता प्रदान गर्न मद्दत गर्ने बताएको छ । विगत ७० दिनदेखि इजरायलले गाजामा मानवीय सहायता रोकेको छ ।
Facebook Comment
Comment