गभर्नर सिफारिस समितिबाट विश्व पौडेलको राजीनामा, आफैँ दाबेदार

नेपालभ्युज

गभर्नर सिफारिस समितिबाट विश्व पौडेलको राजीनामा, आफैँ दाबेदार

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा रहेको गभर्नर सिफारिस समितिको सदस्यबाट राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष विश्व पौडेलले राजीनामा दिएका छन् ।

१८ चैतमा बनेको समिति उनी सदस्य थिए । तर समितिको बैठक नै बस्न सकिएरहेको छैन । पौडेलभन्दा पहिला सदस्यबाट पूर्वगभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएका थिए । भट्टराईको राजीनामापछि पूर्वगभर्नर महाप्रसाद अधिकारी सदस्य मनोनीत भएका थिए । तर, उनको मनोनयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ ।

पौडेलको राजीनमा भने कांग्रेसभित्र गभर्नरको सम्भावित उम्मेदवारको खोजी भइरहेका बेला आएको छ । यसअघि कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई गभर्नर बनाउन चाहेका थिए । तर, ५ वैशाखमा उनले दिएको राजीनामा कार्यवाहक गभर्नर डा. निलम ढुगानाले स्वीकृत नगरेपछि ‘प्राविधिक समस्या’ उत्पन्न भएको छ ।

एक जना राष्ट्र बैंकका डेपुटी गभर्नरसहित तीन जनाको नाम सिफारिस गर्नुपर्छ । तर भट्टको राजीनामा स्वीकृत नभएकाले उनको नाम सिफारिस गर्न कानुनी अड्चन आएको छ । त्यसैले हालै बसेको कांग्रेस पदाधिकारी बैठकमा भट्टको विकल्प खोज्नुपर्ने विषय प्रवेश गरेको थियो । देउवाका निकै विश्वास पात्र रहेका विश्व पौडेल त्यसपछि सम्भावित गभर्नरका रूपमा चर्चामा आएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved