बुटवल – लुम्बिनीमा २५६९ औँ बुद्ध जयन्ती एवम् लुम्बिनी दिवस २०८२ तीन दिन सम्म विविध कार्यक्रम गरी मनाइने भएको छ ।
लुम्बिनी विकास कोषले शनिवार पत्रकार सम्मेलन गरी बुद्ध जयन्तीमा रुपन्देही, कपिलवस्तु र नवलपरासीमा वैशाख २८ ,२९ र ३० गते सम्म गरिने विविध कार्यक्रमहरूको बारे जानकारी गराएको हो । कोषका उपाध्यक्ष डा. ल्यारकाल लामाले तीन दिन सम्म धूमधामका साथ उत्सवका रूपमा एक करोड रुपैयाँ खर्च रुपैयाँ खर्चेर बुद्ध जयन्ती मनाइने बताए ।
गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति र निधनको त्रियोग बौद्ध पूर्णिमाकै दिन हुनुले पनि यो दिन विशेष महत्वको भएको लामाले बताए । गौतम बुद्धको जन्म २६४९ वर्ष अघि ई.पू.६२३ मा लुम्बिनीको सुन्दर र पवित्र बगैँचामा वैशाख शुक्ल पूर्णिमाका दिन भएको थियो ।
२५६९औँ बुद्ध जयन्ती एवम् लुम्बिनी दिवस सम्पन्न गर्न संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री तथा लुम्बिनी विकास कोषका अध्यक्ष बद्रीप्रसाद पाण्डेको संयोजकत्वमा ५६९ सदस्यीय मूल आयोजक समिति गठन भएको छ । अन्य समितिहरूमा ३० सदस्यीय सल्लाहकार समिति, कोषका उपाध्यक्ष एंव संविधान सभा सदस्य डा. ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ) को संयोजकत्वमा मूल व्यवस्थापन समिति एवं पूजा, परित्राण तथा माणी मोलम व्यवस्था उपसमिति, कोषाध्यक्ष दुण्डिराज भट्टराईको संयोजकत्वमा प्रचार प्रसार र रामग्राम देवदह समन्वय उपसमिति गठन भएको छ । यस्तै सदस्य सचिव सानुराजा शाक्यको संयोजकत्वमा सुरक्षा व्यवस्था तथा स्वयम् सेवक व्यवस्था उपसमिति बनेको कोषका वरिष्ठ प्रशासकीय अधिकृत ज्ञानिन राईले जानकारी दिए ।
कार्यकारी सदस्य श्याम मिजारको संयोजकत्वमा अतिथि सत्कार, आवास तथा यातायात व्यवस्था उपसमिति, परिषद् सदस्य गोपीकृष्ण शर्माको संयोजकत्वमा कपिलवस्तु समन्वय उपसमिति, कार्यकारी सदस्य विश्वराज पौडेलको संयोजकत्वमा शोभा यात्रा, प्रसाद वितरण तथा भोजन व्यवस्थापन उपसमिति, योजना प्रमुख स्मिता भट्टको संयोजकत्वमा मायादेवी मन्दिर, मधु साजसज्जा तथा सरसफाइ व्यवस्था उपसमिति वरिष्ठ निर्देशक ज्ञानिन राईको संयोजकत्वमा प्रकाशन वितरण तथा कार्यक्रम व्यवस्था उपसमिति गठन गरी कामहरू भइरहेका राईले बताए ।
वैशाख २९ गते प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान केन्द्रमा विशेष समारोह हुने कोषाध्यक्ष भट्टराईले बताए । बुद्ध जयन्तीको भोलीपल्ट वैशाख ३० गते बर्सेनि हुँदै आएको बोधिसत्त्व सिद्धार्थको शोभा यात्रा र लुम्बिनीबाट नवजात शिशु राजकुमार सिद्धार्थलाई कपिलवस्तुको तिलौराकोट लगिने कार्यक्रम रहेको छ । बृहत्तर लुम्बिनी क्षेत्रका जिल्लावासीहरूलाई बुद्ध जयन्तीका अवसरमा दीप प्रज्वलन गर्न लुम्बिनी विकास कोषले अपिल गरेको छ ।
Facebook Comment
Comment