काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको रातभरिको प्रयासपछि भारत र पाकिस्तानबीच ‘युद्धविराम’ सम्भव भएको उल्लेख गरेका छन् ।
ट्रम्पले आफ्नै सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा लेखेको पोस्टलाई स्कृनशट गरेर एक्समा समेत राखेर भारत र पाकिस्तान तत्काल युद्धविरामका लागि तयार भएको भन्दै बधाई समेत दिएका छन् ।
ट्रम्पले भनेका छन्, “संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा भएको रातभरि गरेको लामो वार्तापछि भारत र पाकिस्तान पूर्ण र तत्काल युद्धविराम गर्न सहमत भएका छन् । दुवै देशलाई साझा समझदारी र उच्च बुद्धिमत्ताको प्रयोग गरेकोमा बधाई छ ।”
ट्रम्पले यसअघि भारत र पाकिस्तानबीच जारी विवाद समाधानका लागि मध्यस्थता गर्न अमेरिका तयार भएको बताएका थिए । त्यसपछि शनिबार मात्रै अमेरिकी विदेशमन्त्री मार्को रूबिओले पाकिस्तानका विदेशमन्त्री इशाक डार र सेना प्रमुख असिम मुनिरसँग टेलिफोन संवाद गरेका थिए ।
भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिश्रीले शनिबार दिउँसो नै पाकिस्तानी वरिष्ठ सैन्य अधिकारीले भारतीय वरिष्ठ सैन्य अधिकारीलाई टेलिफोन गरेपछि दुई आक्रमण रोक्न सहमति जुटेको बताएका छन्।
पाकिस्तानका विदेशमन्त्री इशाक डारले पनि आक्रमण रोक्ने सहमति भइसकेको बताएका छन् ।
Facebook Comment
Comment