काठमाडौं । सङ्घीय लोकतान्त्रिक मोर्चाले बुधबार सम्पन्न बैठकबाट चार महत्त्वपूर्ण निर्णयहरू गरेको छ। मोर्चाले जारी गरेको विज्ञप्ति अनुसार बैठकले विभिन्न समसामयिक मुद्दाहरूमा आफ्नो धारणा सार्वजनिक गरेको हो ।
बैठकको पहिलो निर्णयमा मोर्चाले मित्रराष्ट्र भारतको काश्मीरस्थित पहलगाममा वैशाख ९ गते भएको आतङ्कवादी आक्रमणको घोर भर्त्सना गरेको छ। आक्रमणमा नेपाली नागरिक सुदिप न्यौपानेसहित २८ जना भारतीय पर्यटकको ज्यान गएको थियो।
मोर्चाले यस मानवता विरोधी जघन्य अपराधप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आतङ्कवादविरुद्धको सबै खाले सङ्घर्षमा ऐक्यबद्धता प्रकट गरेको छ। साथै, मोर्चाले मृतक नेपाली नागरिक सुदिप न्यौपानेको परिवारलाई उचित क्षतिपूर्ति, सहयोग र रेखदेख गर्न नेपाल सरकारसँग जोडदार माग गरेको छ।
त्यसैगरी, बैठकले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीलाई वैशाख १७ गते राज्यद्वारा गरिएको गिरफ्तारीलाई गैरकानुनी ठहर गर्दै त्यसको तीव्र विरोध गरेको छ। मोर्चाले उक्त गैरकानुनी कार्यमा संलग्न व्यक्तिहरूलाई कानुनी कारबाही गर्न माग समेत गरेको छ।
मोर्चाले ऐतिहासिक मधेस जनविद्रोह, आन्दोलन, किराँत लिम्बुवान आन्दोलन लगायत विभिन्न आन्दोलनका क्रममा मुद्दा लगाई जेलमा राखिएका राजबन्दीहरूको बिना शर्त रिहा गर्न र उनीहरूमाथि लगाइएका झुठा मुद्दाहरू खारेज गर्न नेपाल सरकारसँग माग गरेको छ।
यस्तै मोर्चाले नेपाल सरकार र विभिन्न आन्दोलनरत पक्षहरूबीच विगतमा भएका सम्झौताहरूको तत्काल कार्यान्वयन गर्न माग गरेको छ ।
Facebook Comment
Comment