भ्रष्टाचार आर्जनबाट विदेशमा लुकाइएको सम्पत्ति फिर्ता गर्न सरकारले चाहेन : अख्तियार प्रमुख राई

नेपालभ्युज

भ्रष्टाचार आर्जनबाट विदेशमा लुकाइएको सम्पत्ति फिर्ता गर्न सरकारले चाहेन : अख्तियार प्रमुख राई

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार गरेर विदेशमा लुकाइएका सम्पत्ति फिर्ता ल्याउन सरकारले नै नचाहेको बताएका छन् ।

राष्ट्रियसभा अन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा उनले सिङ्गापुर, अमेरिका र युरोपमा लुकाइएका सम्पत्ति फिर्ताका लागि ती मुलुक सहमत रहेपनि नेपाल सरकारले नै नचाहेको उल्लेख गरे ।

‘हामीले अहिलेपनि सिङ्गापुर, अमेरिका र युरोपमा भएको पैसा ल्याउनसक्ने अवस्था छैन । यसमा तपाईंहरूले सहयोग गर्नुपर्यो,’ प्रमुख आयुक्त राईले समितिमा भने, ‘सिङ्गापुरले त भ्रष्टाचार भएको पैसा पठाइदिन्छु भने पनि सरकारको तर्फबाट काम अगाडि बढेन । कार्यदल बनाएपनि काम भइरहेको छैन ।’

अख्तियारले भ्रष्टाचारमा संलग्न उपल्लो तहका नेतालाई समेत कारबाहीको दायरामा ल्याउन चाहेपनि अभियुक्त कर्मचारीहरूले अहसयोग गर्दा सफल नभएको बताए । ‘बलिको बोको कर्मचारी मात्रै भयो भन्ने जनगुनासो छ । उपल्लो तहको मान्छेका सन्दर्भमा बयान लिइएका कर्मचारी नै केही बोल्दैनन्,’ उनले भने ।

कर्मचारीले सूचना नचुहाउँदा उपल्लो तहकाहरूको हकमा अनुसन्धान प्रभावित हुँदै आएको उनले बताए । आफूले कार्यकाल सम्हालेसँगै राजनीतिक नेतृत्व जोडिएको भ्रष्टाचार मुद्दा पनि अघि बढेको उनको जिकिर छ । ‘विगतमा के भयो थाहा छैन । मैले कार्यकाल सम्हालेपछि कुनैपनि राजनीतिक नेतृत्वको मुद्दा नलैजानु भनेको छैन । भ्रष्टाचार र अनियमिततामा ठूलो नेक्सस भएको मान्छेलाई अनुसन्धान अघि बढाएजस्तो लाग्छ,’ उनले भने ।

राईले भ्रष्टाचार मुलुकभित्र मात्र नभएर अन्तर्राष्ट्रियकरण भएको बताए ।  भ्रष्टाचारमा संलग्न हुँदै गैरआवासीय नागरिक बन्नकाहरूको  सङ्ख्या उल्लेख्य मात्रामा रहेको राईको दाबी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved