भारत-पाकिस्तान युद्ध प्रभावलाई नजरअन्दाज नगर्न सांसदहरूको माग

नेपालभ्युज

भारत-पाकिस्तान युद्ध प्रभावलाई नजरअन्दाज नगर्न  सांसदहरूको माग

काठमाडौं । प्रतिनिधि सभामा भारत-पाकिस्तान युद्धको प्रभावबारे गम्भीर बन्न सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन् ।

खुला सीमाका कारण नेपालमा समेत चुनौती देखापर्न सक्ने भन्दै सांसदहरूले सचेत रहन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

बुधबार प्रतिनिधि सभाको बैठकमा पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका एनपी साउदले पहलगाममा नेपाली नागरिक आतङ्कवादको शिकार भएको र छिमेकमा युद्धको आगो सल्किरहेको समयमा सरकारले कूटनीतिक जिम्मेवार बोध गर्नुपर्ने उल्लेख गरे । उनले पाकिस्तानी उच्चस्तरीय सैनिक प्रतिनिधिमण्डलको नेपाल भ्रमण उपयुक्त नरहेको बताए ।

‘भ्रमण पूर्वनिर्धारित नै भए पनि वर्तमान स्थितिबारे संवेदनशील भएर कूटनीतिक कौशलताका साथ तत्कालका लागि भ्रमण स्थगन गर्दै उपयुक्त समयको प्रतिक्षा गर्नुपर्ने आवश्यकता थियो’, उनले भने ।

काङ्ग्रेस सांसद सञ्जयकुमार गौतमले भारत–पाकिस्तान युद्धले पार्ने प्रभावबारे नेपाल सरकार समयमै गम्भीर बन्न सुझाए। ‘भूराजनीतिक संवेदनशीलता र खुला सिमानाका कारणले गर्दा भारत पाकिस्तानका बीचमा जुन युद्ध सुरु भएको छ । यसले हामीलाई पार्ने अल्पकालीन र दीर्घकालीन दुवै किसिमका प्रभावहरूको विषयमा नेपाल सरकार समयमै गम्भीर बनोस्,’ सांसद गौतमले भने ।

नेपाल सरकारले समयकै भारत-पाकिस्तान युद्धले नेपाललाई पार्ने प्रभावबारे छलफल अघि बढाउनुपर्ने उनको भनाइ छ । यस्तै, सांसद सर्वेन्द्रनाथ शुक्लले पहलगाम घटनाको भर्त्सना गर्दै आतङ्कवादविरूद्ध प्रष्ट धारणा सार्वजनिक गर्न र संवेदनशील बन्न माग गरेका छन् । खुला सीमाका कारण नेपाललाई चुनौती हुनसक्ने भन्दै यसप्रति सचेत रहन उनले आग्रह गरेका छन् ।

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सरकारले सीमानामा मिहीन निगरानी बढाउन सरकारको ध्यानाकर्षण गराएका छन् । यस्तै, कूटनीतिलाई चुस्त बनाउन उनले ध्यानाकर्षण गराए । ‘सरकारलाई अलिकति पनि अन्तर्राष्ट्रिय सम्बन्धको ज्ञान छैन । मनोविज्ञान पढेको मान्छे परराष्ट्रमन्त्री हो । त्यसकारण परराष्ट्रमन्त्रीलाई कूटनीति के हो भन्ने थाहा छैन,’ उनले भने ।

२२ अप्रिलमा पहलगाममा भएको आतङ्कवादी आक्रमणमा भारतले जवाफी प्रतिकार सुरु गरेको छ । पाकिस्तानविरूद्ध उसले ‘अपरेसन सिन्दुर’मार्फत क्षेप्यास्त्र प्रहार गर्दा २६ जनाले ज्यान गुमाएका छन्  भने ४६ जनाभन्दा बढी घाइते भएका छन् । पाकिस्तानले पनि भारतलाई जवाफ दिने बताइसकेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved