काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले गभर्नर नियुक्तिमा भइरहेको ढिलाइमा प्रधानमन्त्री केपी शर्मा ओलीको कुनै दोष नरहेको बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले राष्ट्र बैङ्कको आन्तरिक समस्याका कारण गभर्नर नियुक्तिमा ढिलाइ भएको बताए । ‘गभर्नर नियुक्ति ढिलो हुनुमा राष्ट्र बैङ्क भित्रकै समस्याले हो । ओलीको कारणले होइन,’ उनले भने ।
राष्ट्र बैङ्क ऐन २०५८ अनुसार रिक्त रहनु एक महिना अगावै गभर्नर नियुक्त गरेर सार्वजनिक सुचना प्रकाशित गर्नुपर्ने उल्लेख छ । तर, महाप्रसाद अधिकारीको कार्यकाल समाप्त भएको एक महिना वितिसक्दा पनि सरकारले गभर्नर नियुक्त गर्न सकेको छैन । काङ्ग्रेस सभापति देउवाले गुणाकर भट्टको नाम प्रधानमन्त्रीलाई दिएसँगै उनले राष्ट्र बैङ्कको कार्यकारी निर्देशकबाट राजीनामा दिइसकेका छन् । कायमुकामय गभर्नर नील ढुङ्गानाले उनको राजीनामा हालसम्म स्वीकृत गरेकी छैनन् ।
गभर्नर नियुक्तिमा भइरहेको ढिलासुस्तीप्रति सभापति देउवाले गत आइतबार प्रधानमन्त्री ओलीसँग भेट गरेर जिज्ञासा राखेका थिए । प्रधानमन्त्री ओलीले वैशाख २५ गतेको मन्त्रिपरिषद् बैठकबाट गभर्नर नियुक्ति गर्ने जानकारी देउवालाई गराएका थिए । गभर्नर सिफारिस समितिको बैठक पनि हालसम्म बस्न सकेको छैन ।
राजनीतिक दलबीच भागबण्डा नमिल्दा सिफारिस समितिलाई बन्धक बनाएकोमा असन्तुष्टि व्यक्त गर्दै सिफारिस समितिमा रहेका पूर्व गभर्नर विजयनाथ भट्टराईले राजीनमा दिएका थिए । त्यसपछि सरकारले सिफारिस समितिमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेको थियो ।
बजेट ल्याउने समयमा गभर्नर एक महिनादेखि रिक्त राखेको भन्दै सांसदहरूले सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा विरोध गर्दै तत्काल गभर्नर नियुक्त गर्न सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् ।
Facebook Comment
Comment