काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले सामाजिक र आर्थिक रूपान्तरणका लागि विस्तृत सम्झौताको प्रस्ताव गरेका छन् । संसदमा नीति तथा कार्यक्रमबारेको छलफलमा बोल्दै वाग्लेले यस्तो प्रस्ताव गरेका हुन् ।
१२ बुँदे शान्ति सम्झौतामार्फ मुलुकलाई नयाँ राजनीतिक मार्गमा प्रवेश गराएझैँ आर्थिक सामाजिक रूपान्तरणका लागि दलहरूबीच विस्तृत साझा सम्झौता गरेर अघि बढ्नुपर्ने प्रस्ताव उनले गरेका हुन् । ‘निषेधको राजनीति होइन मुलुकको आर्थिक तथा सामाजिक रूपान्तरणका लागि विस्तृत सम्झौता गरेर अघि बढौँ,’ उनको प्रस्ताव छ ।
९० को दशकको कुल ग्राहस्थ्य उत्पादनको दर कुशासन कै कारणले कमजोर बनेकाले मुलुकको अर्थतन्त्र धरासायी बनेको भन्दै उनले आर्थिक रूपान्तरणका लागि विस्तृत सम्झौता गरेर अघि बढ्नुपर्ने उनले बताए । ‘९० को दशकको जिडिपी दर कायम गर्न नसक्नुको कारण कुशासन हो । यदि त्यही दर कायम गर्न सकेको भए मुलुकको अर्थतन्त्र १०० अर्बको हुन्थ्यो । कुशासनको मुल्य जिडिपीले खेपिरहेको छ । बजेटको आकार बढाउनुअघि सुशासनतिर ध्यान दिऔँ,’ उनले भने ।
अर्थतन्त्रमा संरचनात्मक सुधारका लागि ‘थ्री डी’ लाई ध्यान दिनुपर्ने उनले बताए । पहिलो डिजिटलाइजेसन, दोस्रो डेमोग्राफी र तेस्रो डायस्पोरालाई केन्द्रित गर्नुपर्ने उनको भनाइ छ ।
Facebook Comment
Comment