काठमाडौं । सांसदहरूले सीता जयन्तीमा पनि विदा दिन माग गरेका छन् । प्रतिनिधिसभाको शून्य समयमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झा र आम जनता पार्टीका अध्यक्ष प्रभु साहले राष्ट्रिय विभूती सीताको जन्मदिनमा पनि विदा दिन माग गरेका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद झाले भारतमा जन्मिएको रामको जन्मदिनमा विदा दिने तर नेपालमा जन्मिएकी सीताको जन्मदिनमा विदा नदिने कुरा उचित नभएको बताए । ‘कता जन्मिएको रामको रामनवमीमा हामी विदा दिन्छौँ । आफ्नै भुमीमा जन्मिएकी जानकीको जन्मदिनमा विगत १० वर्ष यता दुई पटक मात्रै विदा दिइएको छ,’ उनले भने ।
यस्तै आम जनता पार्टीका सांसद साहले सरकारले रामनवमीमा विदा दिएर जानकी जयन्तीलाई वेवास्ता गरेर लैङ्गिक विभेद गरेको टिप्पणी गरे । ‘रामनवमी मनाउनु खुशीको कुरा हो । जानकी जयन्तीलाई वेवास्ता गर्दै सरकारले लैङ्गिक विभेद गरेको छ । २१ औँ शताब्दीमा लैङ्गिक विभेद गर्न मिल्दैन । आफ्नो जन्मदिन धुमधाम मनाउने प्रधानमन्त्रीले सीताको जन्मदिन कसरी विर्सिनुभयो?’ उनको प्रश्न छ ।
सीताको जन्मदिनमा पनि विदा दिन उनले माग गरे ।
Facebook Comment
Comment