पोखरा विमानस्थल अनियमितता प्रतिवेदनमा आशंका गरेको भन्दै उपसमिति सदस्य आलेको असन्तुष्टि

नेपालभ्युज

पोखरा विमानस्थल अनियमितता प्रतिवेदनमा आशंका गरेको भन्दै उपसमिति सदस्य आलेको असन्तुष्टि

काठमाडौं । पोखरा विमानस्थल निर्माणमा भएको भ्रष्टाचार सम्बन्धी संसदको लेखा समिति अन्तर्गतको उपसमितिले तयार पारेको प्रतिवेदनमा प्रश्न उठाउने काम भइरहेको भन्दै उपसमिति सदस्य प्रेम आलेले असन्तुष्टि व्यक्त गरेका छन् ।

आइतबार बसेको लेखा समितिको बैठकमा आलेले उपसमितिले  सरोकारवालाहरुसँग छलफल गरेर नौ महिना मिहेनत गरेर ल्याएको प्रतिवेदनप्रति समितिले धन्यवाद दिनुको सट्टा उल्टै प्रश्न गरिरहेको भन्दै असन्तुष्टि जनाए ।

‘मलाइ बढो अचम्म लागिरहेको छ। यो प्रतिवेदन बाहिरिएको कुरा जुन छ, यो हामी कसैले गरेका छैनौँ। १० जना उपसमितिमा छन्। कसैले भ्रष्टचारीलाई पक्षपोषण गर्नको लागि त्यो प्रतिवेदन बाहिर दिइरहेका छ की? त्यो प्रश्नचिन्ह खडा हुन्छ,’ आलेले भने।

उनले थप भने, ‘त्यसको लागी सभापतिज्यूले छानबिन गर्दा हुन्छ। कतिपय मिडियामा गएर साथिहरुले भ्रष्टाचारीहरुको पक्षपोषण गरिरहेका छन्। त्यो कुरा पनि बिचार गर्नु पर्यो  मान्य सभापति ज्यू। हामिले नौ-नौ महिना लगाएर यत्रो प्रतिवेदन तयार पारेका छौ। धन्यवाद त छैन उल्टो शंका गर्ने?’

आलेले पोखरा विमानस्थल निर्माणमा गम्भीर आर्थिक अनियमितता भएको समेत आरोप लगाए। उनका अनुसार, “१४ अर्बको ठेक्कालाई सिधासिधा २२ अर्ब पुर्‍याइदिएको छ। सिधै ८ अर्ब भ्रष्टाचार भएको छ। यो कानुनविपरीत भयो कि भएन?”

सांसद्आ ले बोल्दै गर्दा लेखा समितिका सभापति ऋषिकेश पोख्रेलले भने रोक्न खोजे। ‘तपाईँहरुले लेखेरै दिनु भएको छ, अन्य माननीय ज्यूहरुले पढ्नु त पर्यो नि,” पोख्रेलले भने। तर, आले रोकिएनन् र पोखरा विमानस्थलको छानबिन उपसमितिले औल्याएका विषयहरु भनिरहे।

पुनः समितिका सभापति पोख्रेलले उनलाई रोक्दै भने,’मैले अघि नै सभापतिको हैसियतले उपसमितिलाई धन्यवाद सहित यो अध्ययन गरेर अर्को बैठकमा छलफल गर्ने भनेको छु। हामीले सबैले एउटा साझा निष्कर्ष निकाल्ने भनेको हो। यो अध्ययन सबै सांसदहरूले गर्ने र, कन्टेन्टको अर्को बैठकमा छलफल गर्ने।”

उपसमितिको प्रतिवेदनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएका अनियमितताहरू औंल्याएको छ। यस विषयमा अर्को बैठकमा विस्तृत छलफल हुने सभापति पोखरेलले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved