काठमाडौं । नेपाली काङ्ग्रेसले संसद्मा प्रस्तुत नीति तथा कार्यक्रमलाई सकारात्मक र रचनात्मक सुझावसहित समर्थन गर्ने निर्णय गरेको छ ।
नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा शनिबार बसेको संसदीय दलको बैठकले सो निर्णय गरेको प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए ।
बैठकले नीति तथा कार्यक्रमले देशको प्राथमिकतालाई केन्द्रमा राख्दै सुशासन प्रवर्द्धनमार्फत समृद्धि हासिल गर्ने सरकारको मार्गचित्र स्पष्ट पारेको निष्कर्ष निकालेको छ ।
साथै, नीति तथा कार्यक्रमले प्रभावकारी र जवाफदेही सरकार बनाउने दिशामा मार्गदर्शन गरेको भन्दै काङ्ग्रेसले यसको कार्यान्वयनमा जोड दिएको छ ।
नीति तथा कार्यक्रमको कार्यान्वयन सुनिश्चित गर्न संसद्का समितिहरू जिम्मेवारीपूर्वक क्रियाशील रहन पनि पार्टीले सांसदहरुलाई निर्देशन दिएको छ ।
यसैगरी, बैठकले हालै भारतको ओडिसा राज्यस्थित कीआईआईटी विश्वविद्यालयमा मृत्यु भएकी नेपाली विद्यार्थी प्रिशा साहको मृत्युप्रति गहिरो दुःख व्यक्त गरेको छ । घटनाबारे थप अनुसन्धानको माग गर्दै सरकारसँग गम्भीर ध्यानाकर्षण गराएको छ ।
Facebook Comment
Comment