काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले श्रमिकहरूलाई पूर्णअधिकार सम्पन्न गराएर रोजगारी बृद्धि गर्ने गरी सरकारले नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने बताएका छन् ।
अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपाल ट्रेड युनियन कांग्रेसले बिहीबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा सभापति देउवाले आफ्नै देशमा ज्ञान सीपको बिकास र लगानी गर्ने वातावरण बनाएर समृद्ध नेपालको सपना पूरा गर्नुपर्ने बताए । उनले असंगठित श्रमिकहरूको पहिचान गरी पञ्जीकरणका लागि स्थानीय तहमा श्रमिक डेस्क राख्ने र सामाजिक सुरक्षाको दायरामा ल्याउन पहल गर्न आवश्यक रहेको जनाए । उनले कांग्रेसले ट्रेड युनियन ऐन, श्रम ऐन, सामाजिक सुरक्षा कोषलगायतलाई अगाडि बढाउन सदैव महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको दाबी गरे ।
त्यस्तै कांग्रेस नेता डा शेखर कोइरालाले मुलुकको परिवर्तनमा श्रमिकहरुको महत्वपूर्ण योगदान गरेको भन्दै उनीहरूको अधिकार स्थापित गर्न कांग्रेस सदैव क्रियाशील रहेको धारणा राखे । योगदानमा आधारित सामाजिक सुरक्षामा अनौपचारिक क्षेत्रलाई पनि समावेश गर्नु चूनौती रहेकाले यसलाई ध्यान दिनुपर्ने उनले बताए । उनले श्रमिक आयोग गठनका लागि कांग्रेसले निरन्तर पहल गर्ने जानकारी दिए ।
Facebook Comment
Comment