भारत नेपालमा व्यवस्था परिवर्तनको पक्षमा छैन: डा. भट्टराई

नेपालभ्युज

भारत नेपालमा व्यवस्था परिवर्तनको पक्षमा छैन: डा. भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले भारत सरकार नेपालमा व्यवस्था परिवर्तनको पक्षमा नरहेको स्पष्ट पारेका छन्। भारत भ्रमण सकेर स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै डा. भट्टराईले यस्तो धारणा व्यक्त गरेका हुन्।

उनले भारतमा नागरिकस्तरमा नेपालमा व्यवस्था उल्टिनेबारे चासो देखिए पनि भारत सरकार र मुख्य शक्तिहरू त्यसको विपक्षमा रहेको बताए। उनले प्रतिगामी शक्तिहरूले अनावश्यक भ्रम फैलाइरहेको आरोप लगाए। नेपालमा व्यवस्था उल्ट्याउने पक्षमा भारत नरहेको थाहा पाउँदा आफूलाई सन्तुष्टि मिलेको उनको भनाइ थियो।

‘भारतमै नागरिकस्तरमा पनि विभिन्न आन्दोलनहरूले व्यवस्थालाई नै चुनौती दिइरहेको हो कि भन्ने चासो रहेछ। तर भारत सरकार र त्यहाँका मुख्य शक्तिहरू यहाँको व्यवस्थालाई उल्ट्याउने प्रतिगामी शक्तिहरूलाई उक्साउने पक्षमा छैनन् र हुन पनि सक्दैन,’ उनले भने।

उनले नेपाल-भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) ले काम गर्न नसकेको निष्कर्षमा भारत सरकार पुगेको र नयाँ विधि अपनाउनुपर्ने देखिएको बताए। नेपाल र भारतबीचका समस्याहरू समाधान गर्न प्रधानमन्त्रीस्तरीय वार्ता हुनुपर्ने उनको सुझाव छ।

‘नेपाल-भारत सम्बन्धको ऐतिहासिकतालाई हामीले अल्झिएर समय खेर फाल्नु हुँदैन। बाँकी रहेका समस्याहरू वार्ता र संवादबाटै हल गर्नुपर्छ। ईपीजी स्वीकार्य नभएको अवस्थामा अर्को विधि खोज्नुपर्छ। त्यसका लागि प्रधानमन्त्रीस्तरमा वार्ता हुनुपर्छ,’ भट्टराईले भने।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved