बिनु सुवेदीलाई अम्बिका देवी ओली स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार

नेपालभ्युज

बिनु सुवेदीलाई अम्बिका देवी ओली स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार

काठमाडौं ।  अम्बिका देवी ओली स्मृति प्रतिष्ठान ले यस वर्षको ‘राष्ट्रिय साहित्य तथा पत्रकारिता पुरस्कार’ पत्रकार बिनु सुवेदीलाई प्रदान गर्ने भएको छ ।

सुवेदीले पितृसत्तात्मक सोच भएको समाजमा जोखिमपूर्ण मानिने पत्रकारिता क्षेत्रमा महिलाको उपस्थिति स्थापित गर्न दिएको योगदानको मूल्याङ्कन गर्दै यो १ लाख ११ हजार १११ रुपैयाँ राशिको पुरस्कार प्रदान गर्ने निर्णय गरेको प्रतिष्ठानले जनाएको छ ।

रुद्र-गौरी श्री-अम्बिका ओली प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीद्वारा जारी  वक्तव्यमा उल्लेख छ, ‘महिलाको विषय नमानिने, असहज र चुनौतीपूर्ण राजनीतिक बिटमा उल्लेखनीय योगदान दिएकाले यो पुरस्कार प्रदान गर्ने निर्णय गरेका हौँ ।’

यसैगरि सोही राशिको ‘गौरादेवी ओली स्मृति राष्ट्रिय आदर्श आमा पुरस्कार’ एकल महिला अधिकार क्षेत्रमा ३० वर्षदेखि सक्रिय महिलाका लागि मानव अधिकार एकल महिला समूहलाई प्रदान गरिने भएको छ ।

गैरराजनीतिक, गैरनाफामूलक र गैरसरकारी संस्थाका रूपमा सक्रिय ओली प्रतिष्ठानले कृषि, महिला सशक्तिकरण, साहित्य, पत्रकारिता र बालबालिकाका क्षेत्रका उत्कृष्ट अभ्यासलाई प्रोत्साहित गरिरहेको छ ।

२०७९ सालदेखि प्रतिष्ठानले प्रत्येक दुई वर्षमा राष्ट्रको समुन्नतिमा योगदान दिनेलाई ५ लाख राशिको प्रज्ञान पुरस्कार द्वारा सम्मानित गर्दै आएको छ।

अहिलेसम्म प्रतिष्ठानले यसअघि स्वर्गीय श्रीप्रसाद ओली राष्ट्रिय अन्तर्राष्ट्रिय प्रज्ञान पुरस्कारबाट हिमालय शमशेर जबरा र डा. सन्दुक रुइतसहित २ जनालाई पुरस्कृत गरिसकेको छ ।

यस वर्ष, प्रतिष्ठानले देवी ओली स्मृति राष्ट्रिय बाल पुरस्कार ११ वर्षकी हेलम्बुकी सदीक्षा पण्डितलाई प्रदान गर्ने निर्णय गरेको छ । त्यस्तै, १४ वर्षीय त्रिदेव पौडेल नवलपरासीलाई पनि संयुक्त रूपमा उक्त सम्मान दिइने भएको छ ।

२० वैशाख २०८२ मा नेपाल पर्यटन बोर्ड हुने समारोहमा प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना मगरको प्रमुख आतिथ्यतामा पुरस्कार प्रदान गरिने प्रतिष्ठानले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved