काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद् वर्षमान पुनले शिक्षकहरू माथि सरकारले दमनको भाषा प्रयोग गरेको भन्दै आपत्ति जनाएका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै पुनले शिक्षकका माग सुन्नुको साटो सरकारले दमनको भाषा बोलेको भन्दै विरोध जनाएका हुन् ।
पुनले विगतमा सरकारसँग तीन चरणमा भएका सहमति पालना गर्न सरकारको ध्यानाकर्षण गराए । ‘करिब एक महिनादेखि पेशागत माग राखेर शिक्षकहरू सडक आन्दोलनमा छन् । विगतमा तीन चरणमा भएका सहमति पालना गर्नुको सट्टा सरकारले दमनको भाषा बोलेको छ’, पुनले भने, ‘यसको म निन्दा र भर्त्सना गर्दछु ।’
लोकतन्त्रमा जनताका आवाज र असन्तुष्टिको समाधान वार्ता र संवादबाट खोजिनुपर्नेमा प्रधानमन्त्री केपी ओलीले नै बल प्रयोग र हठ प्रदर्शन गरेको उनले बताए । ‘लोकतन्त्रमा जनताका असन्तुष्टि र मागको सम्बोधन संवादबाट हुनुपर्ने हो’, उनले भने, ‘सम्माननीय प्रधानमन्त्री नै शिक्षकहरू प्रति बल प्रयोग र हठको भाषा बोलिरहनुभएको छ ।’
पुनले तत्काल वार्ता मार्फत शिक्षकहरूका जायज माग सम्बोधन गर्न आफ्नो दलका तर्फबाट माग गरे ।
Facebook Comment
Comment