एकीकृत समाजवादीका नेताप्रति आक्रोशित शिक्षक : समितिमा विधेयक झुलाएर सडकमा आउनुको अर्थ हुँदैन
नेपालभ्युज
काठमाडौं । शिक्षक आन्दोलनमा ऐक्यबद्धता जनाउन पुगेका नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरूप्रति शिक्षकहरू आक्रोशित बनेका छन् ।
उनीहरूले आफूहरूको माग सम्बोधनका लागि सडकमा आएर नभई संसद्मै प्रभावकारी भूमिका निर्वाह गर्न नेताहरूलाई सुझाएका छन् । नेकपा एस नेतृत्वकै शिक्षा समितिले विधेयकमा अलमल गरिरहेको भन्दै शिक्षकहरूले शीर्ष नेताहरू समक्ष आक्रोश व्यक्त गरे ।
‘तपाईंहरूकै नेतृत्वमा शिक्षा समिति छ । शिक्षा समितिले विधेयकमा अलमल गरिरहेको छ । हाम्रो माग सम्बोधनका लागि तपाईंहरू सडकमा आएर होइन सदनमै सशक्त हुनुपर्यो । ऐन जारी गर्न तपाईंहरूले सदनमा दबाब दिने हो । तपाईंहरूकै नेता समिति सभापति हुनुहुन्छ, उहाँले विधेयकमा अलमल गरिरहनुभएको छ । तपाइँहरू संसद्मा काम गर्नुस् । सडकमा आउनुको कुनै अर्थ छैन,’ शिक्षकहरूले भने ।
शिक्षक आन्दोलनमा ऐक्यबद्धता जनाउन पुगेका नेताहरू
ऐक्यबद्धता जनाउन सडकमा गएका नेताहरूप्रति शिक्षकहरू आक्रोशित भएपछि नेताहरू फर्किएका छन् । त्यसक्रममा शिक्षकहरूले शिक्षा ऐन तत्काल जारी गर भन्दै नाराबाजी गरेका थिए ।
शिक्षकहरूको आन्दोलनमा दोस्रोपटक पुगेका नेकपा एसका सम्मानित नेता झलनाथ खनालले गुरूहरूको मागलाई पहिलो प्राथामिकतामा राखेर पूरा गर्नुपर्ने बताए । ‘शिक्षकहरूको माग सम्बोधन प्राथामिकताका साथ गर्नुपर्छ । शिक्षकहरूमाथिको दमन सरकारको अकर्मण्यता हो । यसको हामी विरोध गर्छौँ,’ उनले भने ।
सरकारले ऐन जारीका लागि ध्यान दिन नसक्नु सरकारको गैरजिम्मेवारपन रहेको उनले बताए । नेता खनालले नेकपा एसले शिक्षकहरूको आन्दोलनप्रति माग पूरा नहुन्जेलसम्म पार्टीको साथ रहने बताए ।
Facebook Comment
Comment