काठमाडौं । सत्तारुढ नेकपा एमालेले पार्टी स्थापना र लोकतन्त्र दिवसको अवसरमा आज (बिहीबार) काठमाडौंमा ‘युथ सेलिब्रेसन’ विशेष कार्यक्रमको आयोजना गर्दैछ ।
लोकतन्त्र दिवसको अवसर पारेर दिउँसो १ बजेबाट भृकुटीमण्डपमा ४० वर्षमुनिका एक लाख युवालाई उतार्ने एमालेले तयारी गरेको छ ।
कार्यक्रममा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव शङ्कर पोखरेलले संक्षिप्त शुभकामना मन्तव्य राख्ने र बाँकी सबै वक्ता युवा रहने छन् ।
जसअनुसार प्रतिनिधिसभा सदस्य सुहाङ नेम्वाङ, काठमाडौं महानगरपालिकी उपप्रमुख सुनीता डङ्गोल, आनन्द सिंह, विष्णु पोखरेल, अश्विनी शेख, शिवकुमारी चौधरी, विशाल पुन, शर्मिला भण्डारी लगायतका युवाको आफ्नो धाराणा राख्ने तयारी रहेको छ ।
आयोजकका अनुसार महोत्सवमा ४० वर्ष मुनिका विभिन्न उमेर समूहका युवाहरूले आफ्नो विचार राख्नेछन् भने विभिन्न सांस्कृतिक कार्यक्रम पनि हुनेछ । कार्यक्रममा देशभरबाट एक लाख युवाले सहभागिता जनाउने एमालेको दाबी छ ।
कार्यक्रममा आउनेहरूका लागि मोटरसाइकल र स्कुटर पार्किङका लागि बग्गीखानामा व्यवस्था गरिएको छ भने मिनी र ठूला बसका लागि टुँडिखेल र साना गाडीका लागि रङ्गशालामा व्यवस्था मिलाइएको एमालले जनाएको छ ।
Facebook Comment
Comment