पेन्सनधारीले दोहोरो सुविधा लिए सरकारी बाँकी सरह असुल उपर हुने

नेपालभ्युज

 पेन्सनधारीले दोहोरो सुविधा लिए सरकारी बाँकी सरह असुल उपर हुने

काठमाडौं। संघीय निजामति विधेयकमा दोहोरो सुविधा रोक्नेगरी कानुन प्रस्ताव गरिने भएको छ । राज्य व्यवस्था तथा सुशासन समितिमा सांसदहरूले पेन्सनधारीहरूले समेत दोहोरो सुविधा लिइरहेको भन्दै त्यसलाई रोक्ने गरी विधेयकमा प्रावधान राख्न माग गरेका छन् ।

समितिको बैठकमा बोल्दै काङ्ग्रेस, एमाले तथा माओवादी केन्द्रका सांसदहरूले पेन्सनधारीहरूको दोहोरो सुविधा अन्त्य गर्ने प्रावधान उल्लेख गर्न माग गरेका हुन् । समितिमा बोल्दै काङ्ग्रेस सांसद हृदयराम थानी, सरिता प्रसाइँ, अम्बिका बस्नेतले कानुन मार्फत नै दोहोरो सुविधा अन्त्य हुनुपर्ने माग गरे । बैठकमा बोल्दै सांसद बस्नेतले भनिन्, ‘कसैले केही पनि नपाउने कसैले दोहोरो सुविधा लिने न्यायोचित हुँदैन । यो कुरा रोक्नुपर्छ ।’

एमाले सांसद रघुजी पन्तले पनि दोहोरो सुविधा पाउने कुरा रोक्नुपर्ने माग गरेका छन् । माओवादी केन्द्रका प्रमुख सचेत हीतराज पाण्डेले राजनीतिक नियुक्ति पाएकाहरूले नियुक्तिको सुविधा, पेन्सनको सुविधा र सामाजिक सुरक्षाको सुविधा लिएको पाइएकाले यसलाई रोक्नुपर्ने माग गरे । ‘राजनीतिक नियुक्ति लिएपछि सुविधा जुन धेरै हुन्छ त्यो छनौट गर्ने सुविधा दिऔँ । तर पेन्सन पनि लिने नियुक्तिको पनि सुविधा लिने अनि सामाजिक सुरक्षा भत्ता पनि लिने कुरालाई बन्द गरौँ,’ उनले भने ।

सांसदहरूले यस्तो माग गरेपछि समिति सभापति रामहरी खतिवडाले दोहोरो सुविधा लिएको पाइएमा असुल उपर गर्नेगरी कानुन ल्याइने बताए । ‘दोहोरो सुविधान अन्त्य गर्ने निर्णय गर्ने भएका छौँ । नियुक्तिका सुविधा वा निवृत्तिभरण मध्ये एक रोज्नुपर्ने व्यवस्था गर्छौँ ।’

दोहोरो सुविधा लिएको पाइएमा त्यसलाई असुल उपर गर्ने प्रावधान नै विधेयकमा राखिने उनले बताए । ‘यस सुविधा लिइएको पाइएमा सरकारी बाँकी सरह असुल उपर गरिनेछ,’ उनले भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved