काठमाडौं । निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा पक्राउ परेर रिहा भएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले आफ्नो पार्टीको आन्दोलन निरन्तर जारी रहने बताएका छन्।
आइतबार सिंहदरबारमा भएको सांकेतिक प्रदर्शनमा पक्राउ परेर रिहा भएलगत्तै सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै लिङदेनले गत चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनका क्रममा पक्राउ परेका आफ्ना पार्टीका नेताहरू रिहा नभएसम्म आन्दोलन जारी रहने अडान व्यक्त गरेका हुन् ।
उनले भने, ‘रिहाइ नभएसम्म निरन्तर यस प्रकारको आन्दोलनमा रहन्छौँ हामी। भोलिको कुरा भोलि नै भन्छौँ।’
आइतबार अध्यक्ष लिङदेन, उपाध्यक्ष बुद्धिमान तामाङ, प्रवक्ता ज्ञानेन्द्र शाहीसहित सात जनालाई सिंहदरबार परिसरभित्र प्रदर्शन गरेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो। राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले निषेधित क्षेत्रमा आन्दोलन गर्ने निर्णय गरेको थियो।
भोलिको कार्यक्रमबारे सञ्चारकर्मीले सोधेको प्रश्नमा अध्यक्ष लिङदेनले तत्काल केही खुलाउन चाहेनन् र ‘भोलिको कुरा भोलि नै भन्ने’ जवाफ दिए।
राप्रपाले आफ्ना नेता कार्यकर्ताको रिहाइको माग गर्दै निषेधित क्षेत्रमा प्रदर्शनलाई निरन्तरता दिएको छ।
Facebook Comment
Comment