राप्रपाको भोलि बिजुलीबजारमा प्रदर्शन, निषेधित क्षेत्र तोड्ने तयारी

नेपालभ्युज

राप्रपाको भोलि बिजुलीबजारमा प्रदर्शन, निषेधित क्षेत्र तोड्ने तयारी
फाइल तस्वीर

काठमाडौं  । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भोलि आइतबार काठमाडौंको बिजुलीबजारमा प्रदर्शन गर्ने भएको छ। सामूहिक गिरफ्तारी दिँदै आन्दोलनलाई थप सशक्त बनाउने रणनीति लिएको राप्रपाले निषेधित क्षेत्र तोड्ने तयारी गरेको हो।

राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले भोलिको प्रदर्शनमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन पनि सहभागी हुने जानकारी दिएका छन्। प्रदर्शन दिउँसो १२ बजेबाट सुरु हुनेछ।

बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आन्दोलनका कार्यक्रम घोषणा गर्दै सामूहिक गिरफ्तारी दिने निर्णय गरेको थियो। राप्रपाले वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर जबरासहित तीनकुने घटनामा पक्राउ परेकाहरूको रिहाइको माग गर्दै चरणबद्ध आन्दोलन गरिरहेको छ।

तीनकुने घटनामा मिश्र र जबरा पक्राउ परेको भोलिपल्ट, चैत १६ गतेदेखि राप्रपाले देशभर आन्दोलनका कार्यक्रमहरू गरिरहेको छ। चैत २६ गते बल्खुमा सभा गरेर राप्रपाले आफ्ना नेताहरूको रिहाइ र उक्त घटनाको छानबिन गर्न आयोग गठन नगरे थप सशक्त आन्दोलन गर्ने चेतावनी दिएको थियो।

केही दिनको मौनतापछि राप्रपाले दोस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ। दोस्रो चरणको आन्दोलनको पहिलो दिनमै निषेधित क्षेत्र तोड्ने कार्यक्रम राखिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved